सिक्किममा भीषण हिमपात भएको छ। सेतो हिउँले धेरै स्थानहरू ढाकिए। पछिल्ला दुई दिनको भीषण हिमपातका कारण लगभग साढ़े पाँच सय वाहनहरूसहित तीन हजार पर्यटक फँसिएका थिए। अभियान सञ्चालन गरेर भारतीय सेना र सिक्किम प्रशासनले तिनीहरूको उद्धार गरेको छ। एकातिर समतल क्षेत्रमा सुक्खा मौसम अर्कातिर पहाड़मा ठीक उल्टो अवस्था देखिएको छ। सोमवार र मङ्गलवार दार्जीलिङ र कालेबुङ जिल्लामा असिनासितै भीषण वर्षा भयो। यी दुवै दिन पूर्व र उत्तर सिक्किमका जिरो पोइण्ट, 15 माइल, छाङ्गु झील, नथुला, युमथाङलगायत विभिन्न स्थानमा भीषण हिमपात भयो। आरम्भमा त्यहाँ घुम्न गएका पर्यटकहरूले हिमपातको आनन्द लिइरहेका थिए तर केही घण्टामै स्थिति जटिल बन्न पुग्यो।
भीषण हिमपातका कारण लगभग 2736 पर्यटक फँसे। सड़कको अवस्था यति जोखिमपूर्ण भयो कि वाहन सञ्चालन गर्न असम्भव बन्यो। त्यसपछि चालकहरूले सिक्किम प्रशासन र भारतीय सेनालाई खबर गरे। खबर पाएपछि भारतीय सेना उद्धार कार्यमा जुट्यो। सहयोगका लागि सिक्किम प्रशासन र बोर्डर रोड अर्गनाइजेशन पनि अघि आए। सोमवार सबैभन्दा पहिले छाङ्गु झीलबाट फर्किने क्रममा लगभग 150 भन्दा अधिक पर्यटक बोकेको वाहन फँसे। अर्कातिर नथुला पासबाट फर्किने क्रममा थप 150 वटा वाहन फँसे। 300 वाहनमा लगभग 800 जना पर्यटकहरू थिए। तत्काल भारतीय सेनाको त्रिशक्ति कोर उद्धार अभियानमा जुट्यो। आरम्भमा सड़कबाट हिउँ हटाउने काम गरियो। त्यसपछि क्रमशः वाहनहरूलाई गन्तव्यतर्फ फर्काउने कार्य गरियो। तर फँसेका पर्यटकमध्ये 46 जनालाई उद्धार गरेर आर्मी बेस क्याम्पमा ल्याइयो। त्यहाँ तिनीहरूलाई प्राथमिक उपचार, न्यानो कपड़ा र खानपानको व्यवस्था गरियो।
यसैबीच मङ्गलवार पनि सिक्किममा भीषण हिमपात भयो। मौसम अझ खराब बन्यो। नथुला पास र छाङ्गु झीलबाट फर्किने क्रममा 15 माइल क्षेत्रमा पुनः लगभग 300 पर्यटकहरू बोकेको वाहन फँसे। लगभग 2000 भन्दा अधिक पर्यटक फँसे। भीषण हिमपातका कारण सम्पर्क व्यवस्था अवरुद्ध भयो। खबर पाएपछि फेरि भारतीय सेना उद्धार अभियानमा जुट्यो। हिमपातका कारण सड़क चिप्लो बनेको थियो। यसले सबै वाहन रोकिए र भीषण ट्राफिक जाम सिर्जना भयो। सेनाका विशेष हिउँ पन्छाउने वाहन प्रयोग गरी सड़कबाट हिउँ हटाएर क्रमशः फँसेका वाहनहरूलाई उद्धार गर्ने काम सुरु गरियो। लगभग 1500 पर्यटकहरूलाई 15 माइलस्थित आर्मी बेस क्याम्पमा ल्याइयो। त्यहाँ तिनीहरूका लागि राति बस्ने र खाने व्यवस्था मिलाइयो। केही वाहनलाई भने बेलुकीसम्म गान्तोक फर्काइयो। बुधवार बिहान मौसममा केही सुधार आएपछि बेस क्याम्पमा रहेका पर्यटकहरूलाई गान्तोक फर्काउने काम गरियो। त्रिशक्ति कोरका कर्णेल गौरव राठौरले भने, दुई दिनदेखि सिक्किममा भीषण हिमपात भइरहेको छ। यसकारण सोमवार र मङ्गलवार धेरै पर्यटकहरू तथा 500 भन्दा अधिक वाहनहरू फँसेका थिए। तर सेनाका जवानहरूले चरणबद्ध रूपमा हिउँ हटाउँदै फँसेका वाहनहरूलाई गन्तव्यमा फर्काउन सफल भए। सयभन्दा अधिक पर्यटक आर्मी बेस क्याम्पमा सुरक्षित छन्। बुधवार तिनीहरूलाई पनि फर्काउने व्यवस्था गरियो। चिन्ता लिनुपर्ने कुनै कारण छैन। यस्ता अवस्थाका लागि सेना सधैँ तयार रहन्छ।
भीषण हिमपातमा फँसिएका 3000 पर्यटकहरूको उद्धार
