निजी प्याथोलोजी सेण्टर र नर्सिङहोमहरूको प्रभुत्व असामान्य रूपले बढ्दै गइरहेको छ। त्यसैले सिलगढ़ीमा आफ्नै स्वास्थ्य विभागलाई सुदृढ़ बनाउन नगर निगम सक्रिय भएको छ। नगर निगमले थप 30 शैय्याको एउटा अस्पताल, 12 वटा सुस्वास्थ्य केन्द्र तथा एउटा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्ने योजना बनाएको छ। यसका लागि चिकित्सक र नर्ससहित थप 97 जना स्वास्थ्यकर्मी नियुक्त गरिनेछ। नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यस्तो योजना ल्याइएको हो। नगर निगमको स्वास्थ्य विभागका मेयर परिषद सदस्य दुलाल दत्तले मेयर गौतम देवको नेतृत्वमा स्वास्थ्य विभागको पूर्वाधार सुदृढ़ीकरणको कार्य भइरहेको बताए। यसपल्ट एउटा अस्पतालसहित 13 वटा स्वास्थ्य केन्द्र निर्माण गरिनेछ। सन् 2026-27 आर्थिक वर्षको बजेटमा सम्बन्धित परियोजनाहरू घोषणा गरिएको छ। यसबाट शहरको स्वास्थ्य सेवा अझ सुधार हुनेछ।
सिलगढ़ीमा निजी प्याथोलोजिकल सेण्टरहरूको प्रभुत्व लामो समयदेखि चल्दैआइरहेको हो। रगत परीक्षणसहित विभिन्न प्रकारका परीक्षणका लागि सम्बन्धित संस्थाहरूले असामान्य शुल्क लिने गरेका आरोप छ। त्यस्तै शहरका विभिन्न स्थानमा नर्सिङहोमहरू बढ़िरहेका छन्। ती संस्थाहरूमा पनि ठूलो रकम लिएर उपचार सेवा प्रदान गरिन्छ। यस्तो अवस्थामा नगर निगमको स्वास्थ्य विभागको पूर्वाधार सुदृढ़ गर्नुपर्ने माग लामो समयदेखि भइरहेको थियो। त्यसअनुसार अहिले स्वास्थ्य विभागको संरचना दह्रो बनाउने कार्य भइरहेको छ। नगर निगम सूत्रअनुसार हाल शहरमा 30 वटा स्वास्थ्य केन्द्र छन्। तीमध्ये एउटा 25 शैय्याको मातृसदन अस्पताल, 11 वटा प्राथमिक स्वास्थ्य केन्द्र र 18 वटा सुस्वास्थ्य केन्द्र छन्। यसअघि नै 30 नम्बर वार्डको प्राथमिक स्वास्थ्य केन्द्र 9 र 46 नम्बर वार्डको चम्पासरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र 7 मा एक्स–रे मेसिन जड़ान गरिएको छ। अब थप केही स्वास्थ्य केन्द्र निर्माण गरिनेछ। स्वास्थ्य विभागका मेयर परिषद सदस्यअनुसार 2 नम्बर वार्डमा नयाँ प्राथमिक स्वास्थ्य केन्द्र निर्माणको कार्य भइरहेको छ र छिट्टै सम्पन्न हुनेछ। 27, 36, 42 अनि 47 नम्बर वार्डमा सुस्वास्थ्य केन्द्र निर्माण गरिनेछ। थप सातवटा स्वीकृत सुस्वास्थ्य केन्द्रका लागि जग्गा खोजी भइरहेको छ। सबै प्रक्रिया सही रहे तिनीहरूको निर्माण कार्य पनि आरम्भ हुनेछ। 38 नम्बर वार्डमा समन्वित सुस्वास्थ्य केन्द्र निर्माण गरिनेछ।
मातृसदन अस्पतालको विपरीततर्फ 30 शैय्याको अस्पताल निर्माण हुनेछ। परियोजनाहरू कार्यान्वयन भएपछि नागरिकले व्यापक सुविधा पाउनेछन्। ती केन्द्रहरूमा प्राथमिक उपचारका साथै विभिन्न प्रकारका परीक्षणहरू निःशुल्क गर्न सकिनेछ। स्वास्थ्य केन्द्र निर्माणसितै स्वास्थ्यकर्मीको नियुक्ति पनि भइरहेको छ। गत 30 जनवरी चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी नियुक्तिका लागि परीक्षा सम्पन्न भएको थियो। स्वास्थ्य विभागका मेयर परिषद सदस्यअनुसार सन् 2025-26 आर्थिक वर्षमा प्राथमिक स्वास्थ्य केन्द्रका लागि छजना पूर्णकालीन र चारजना अंशकालीन मेडिकल अधिकारी नियुक्त गरिएको छ। हाल स्वास्थ्य केन्द्रहरूमा 10 जना मेडिकल अधिकारी, नौजना स्टाफ नर्स र एकजना एएनएम कार्यरत छन्। छिट्टै 19 जना स्टाफ नर्स र 26 जना एएनएम नियुक्त गरिनेछ। यसबाहेक 15 जना मेडिकल अधिकारी, 21 जना स्टाफ नर्स र 16 जना कम्युनिटी हेल्थ असिस्टेण्ट पदका लागि पनि परीक्षा सम्पन्न भएको छ।
सिलगढ़ीमा अस्पतालसहित थप 13 स्वास्थ्य केन्द्र निर्माण गरिने
