10 करोड़ 81 लाख रुपियाँ सम्पत्ति कर सङ्कलन

सम्पत्ति कर सङ्कलनको परिमाण बढ़िरहेको छ। प्रशासन सूत्रअनुसार, केवल सात महीनामा सिलगढ़ी नगर निगमले 10 करोड़ 81 लाख 11 हजार 842 रुपियाँ सम्पत्ति कर सङ्कलन गरेको छ। आगामी चार महीनामा उक्त रकम 19 करोड़ रुपियाँ पुग्ने अनुमान गरिएको छ। अर्कातिर राज्य तथा केन्द्र सरकारका 73 वटा कार्यालयबाट बक्यौता सम्पत्ति कर र सेवा शुल्कको रकम 18 करोड़ रुपियाँभन्दा अधिक रहेको छ। यस्तो परिप्रेक्ष्यमा उपासनालय, दातव्य ट्रस्ट, सोसाइटी, मदरसा तथा विद्यालयका सम्पत्ति करमा छुट दिने घोषणा नगर निगमको बजेटमा गरिएको छ।
यसैबीच आज सोमवार नगर निगम बजेटमाथि छलफल हुनेछ। त्यसमा नगर निगमको आम्दानी तथा विकास सम्बन्धी परियोजनाहरूका विषयमा चर्चा हुन सक्ने बताइएको छ। दुई दिनसम्म बजेट पुस्तिका तृणमूल कङ्ग्रेस, भाजपा, सीपीएम र कङ्ग्रेसले समीक्षा गरेका छन्। गत शुक्रवार 2026-27 आर्थिक वर्षको बजेट सिलगढ़ी नगर निगमले प्रस्तुत गरेको थियो। बजेटमा आर्थिक वर्षको सम्पत्ति कर सङ्कलनको परिमाण उल्लेख गरिएको छ। सम्पत्ति कर विभाग सूत्रअनुसार, 2020-21 आर्थिक वर्षमा सम्पत्ति कर सङ्कलन 11 करोड़ 49 लाख 97 हजार 984 रुपियाँ थियो। 2021-22 आर्थिक वर्षमा यो रकम केही घटेर 11 करोड़ 13 लाख 20 हजार 331 रुपियाँमा पुगेको थियो। 2022-23 आर्थिक वर्षमा कर सङ्कलन उल्लेखनीय रूपमा बढ़ेर 15 करोड़ 44 लाख 5 हजार 920 रुपियाँ पुगेको थियो। 2023-24 आर्थिक वर्षमा यो बढ़ेर 15 करोड़ 86 लाख 82 हजार 388 रुपियाँ भएको थियो। 2024-25 आर्थिक वर्षमा कर सङ्कलन 15 करोड़ 85 लाख 66 हजार 89 रुपियाँ थियो।
2025-26 आर्थिक वर्षमा कर सङ्कलन 10 करोड़ 81 लाख 11 हजार 842 रुपियाँ रहेको छ। मेयरले भने, केवल सात महीनामै सम्पत्ति करबाट यति धेरै रकम सङ्कलन भएको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म यो रकम 19 करोड़ रुपियाँ पुग्ने आशा गरिएको छ। त्यसैले केही सामाजिक परियोजनामा जोड़ दिइएको छ। राज्य सरकारका 58 वटा कार्यालयबाट बक्यौता सम्पत्ति कर 14 करोड़ 2 लाख 40 हजार 715 रुपियाँ रहेको छ। केन्द्र सरकारका 15 वटा कार्यालयबाट बक्यौता सेवा शुल्क 4 करोड़ 6 लाख 18 हजार 262 रुपियाँ रहेको छ। ती कर भुक्तानीका लागि सम्बन्धित कार्यालयहरूलाई अनुरोधपत्र पठाइँदैछ।

By Paromita