यूएईका पूर्व कप्तानसहित दुई क्रिकेटरमाथि आठ वर्षको प्रतिबन्ध

यूनाइटेड अबर एमिरेट्स(यूएई)का दुईजना क्रिकेटरमाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)ले आठ वर्षको प्रतिबन्ध लगाएको छ । मोहम्मद नवीद र शैमान अनवरमाथि सन् २०१९ को अक्टोबर १६ देखि आठ वर्षका लागि लागू हुनेछ ।
सन् २०१९ को टी ट्वान्टी विश्वकप छनोट खेलको क्रममा दुबै खेलाडीले अनियमितता गरेको आइसीसीको छानबिनले ठहर गरेको छ । लिखित र मौखिक बहसपछि आइसीसीको अनियमितता छानबिन समितिले दुबै जना खेलाडीलाई दोष पाएको छ ।
उहाँहरु दुबैजनालाई आइसीसीको खेलाडी संहिताको धारा २.१.१ र २.४.४ बमोजिम दोषी पाइएको छ । दुबै धारामा खेललाई प्रभावित हुने गरी मिलेमत्तो गरेको अवस्था र खेलको परिणाम प्रभावित हुने गरी आउन प्रलोभनबारे जानकारी गराउनुपर्ने उल्लेख छ ।
नवीद यूएईका पूर्ब कप्तान समेत हुनुहुन्छ । नवीद यूएईको प्रतिनिधित्व गरी सर्वाधिक विकेट लिनेको सूचीमा हुनुहुन्छ । ३३ वर्षीय नवीदले अन्तर्राष्ट्रिय एकदिवसीयमा यूएईका लागि सबैभन्दा बढी विकेट लिनुभएको छ । अनवर भने ओपनर ब्याट्सम्यान हुनुहुन्छ । हालै आफ्नो ४२ औं जन्मदिन मनाउनुभएका अनवर यूएईका लागि अन्तर्राष्ट्रिय एकदिवसीय र टी ट्वान्टी अन्तर्राष्ट्रियमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान हुनुहुन्छ ।
नवीद र अनवर दुबैजनाले आरोप स्वीकार्नुभएको थियो । नवीदले भने आफूले छलफल गरेको ब्यक्ति ‘म्याच फिक्सर’ रहेको जानकारी पाए लगत्तै भेटन रोकेको दाबी गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *