सुचीविरुद्ध पैसा र सुन लिएको आरोपमा मुद्दा

म्यान्मारको सैनिक सरकारले लोकतन्त्रवादी नेत्री आङ सान सुचीविरुद्ध बिहीबार अर्को मुद्दा लगाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सरकारमा रहँदा सुचीले गैरकानुनी रूपमा ६ लाख अमेरिकी डलर र सुन लिएको आरोप लगाइएको हो । 

सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेयता सुचीविरुद्ध लगाइएको यो सबैभन्दा गम्भीर आरोप हो । यद्यपि, उनीविरुद्धको आरोपसम्बन्धी कुनै प्रमाण भने सार्वजनिक गरिएको छैन । सुचीले करिब साढे ६ लाख बराबरको सुन स्वीकार गरेकी सहायक रथी ज मिन तुनको दाबी छ । तुनले राष्ट्रपति विन मिन्ट र कैयौं मन्त्रीहरूलाई पनि भ्रष्टाचारको आरोप लगाएका छन् ।

यसअघि सुचीलाई गैरकानुनी रूपमा सञ्चार उपकरण राखेको, आयातसम्बन्धी कानुन उल्लंघन गरेको लगायतका ४ वटा मुद्दा लगाइसकिएको छ । सेनाले सत्ता हातमा लिएसँगै सुचीसहित उनको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का दर्जनौं नेताहरूलाई नियन्त्रणमा लिएको थियो । ७५ वर्षीया सुचीलाई मार्च १५ मा अदालत पेस गरिने जनाइएको छ । नोभेम्बरमा भएको चुनावमा व्यापक धाँधली गरेको तथा सरकारले आर्थिक हिनामिना गरेको आरोप लगाउँदै सेनाले सत्ता हातमा लिएको हो । उक्त चुनावमा सुचीको दल एनएलडी करिब ८० प्रतिशत मतसहित विजयी भएको थियो ।

फेब्रुअरी १ मा सेनाले शासन सत्ता हातमा लिएपछि म्यान्मारमा दैनिकजसो विरोध प्रदर्शन हुँदै आएका छन् । बिहीबार गरिएको प्रदर्शनका क्रममा प्रहरीको दमनका कारण कम्तीमा ८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । योसँगै प्रदर्शनमा ज्यान गुमाउनेको संख्या करिब ७० पुगेको छ । माइङ सहरमा बिहीबार गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाएपछि ६ जनाको मृत्यु भएको हो । ‘हामीले शान्तिपूर्ण रूपमा विरोध गरिरहेका थियौं,’ ३१ वर्षीय सहभागीले भने, ‘यस्तो घटना मलाई विश्वास नै लागिरहेको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *