यमनको विमानस्थलमा आक्रमण : २२ जनाको मृत्यु

यमनको दक्षिणी सहर एडनस्थित विमानस्थलमा गरिएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार ५० जनाभन्दा बढी घाइते भएका छन् ।

युद्धका कारण विभाजित यमनको हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरबबाट आएर अवतरण गरेको केही बेरमै विस्फोट गराइएको हो । घटनामा हताहत हुने सहायतामा जुटेका मानिसका साथै अधिकारीहरू पनि रहेको बताइएको छ । तर यमनका प्रधानमन्त्रीले आफू र मन्त्रिपरिषद् सदस्यहरू सकुशल रहेको बताएका छन् । यमनी सूचनामन्त्रीले हुथी विद्रोहीहरूले कायरतापूर्ण आतंकवादी कार्य गरेको बताएका बीबीसीले उल्लेख गरेको छ । यमन करिब ५ वर्षदेखि द्वन्द्वको चपेटामा परेको छ ।

साउदी अरबले नेतृत्व गरेको अरब राष्ट्रहरूको समूहले हुथी विद्रोहीहरूलाई परास्त गर्न र राष्ट्रपति अब्दराबा मन्सुर हादीको शासन पुनः स्थापित गर्नका लागि सैन्य कारबाही सुरु गरेसँगै यमन द्वन्द्व चर्केको हो । यमनमा करिब ५ वर्षदेखि जारी द्वन्द्वका कारण १ लाख १० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । द्वन्द्व चर्कंदै गएका कारण लाखौं मानिस भोकमरीको सिकार भएका छन् । कोरोना भाइरसको महामारीका कारण झन् यमनको अवस्था कमजोर बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *