दोस्रो चरणको खोप कार्यक्रम केही समयका लागि स्थगित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारसम्म कोरोना विरुद्धको खोप लगाएकाहरुलाई दोस्रो डोजको खोप सुनिश्चित गर्नका लागि केही समय दोस्रो चरणको खोप कार्यक्रमलाई स्थगित गर्ने निर्णय गरेको छ । मन्त्रालयले फागुन २३ देखि चैत ३ गतेसम्म ६५ वर्षमाथिका व्यक्तिलाई दोस्रो चरणको खोप कार्यक्रम अन्तरगत कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरेको थियो ।

मन्त्रालयले दोस्रो चरण अन्तर्गत ५५ वर्ष ६४ सम्मका व्यक्तिलाई दोस्रो चरणमा खोप दिने कार्यक्रम तय गरे पनि खोप आपूर्ति गर्न केही समय लाग्ने देखिएपछि सो कार्यक्रमलाई स्थगित गर्नु परेको हो ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाले नेपाललाई थप खोप उपलब्ध गराउने बारे औपचारिक धारणा सार्वजनिक नगरेका कारण केही समयलाई खोप कार्यक्रम स्थगित गर्नु परेको छ । ‘हालसम्म करिब १६ लाख ५४ हजार ३ सय ५६ बढीले खोप लगाएका छन् । हामीसँग उनीहरुलाई दोस्रो डोज दिन पुग्ने गरी खोप बाँकी छ,’ उनले भने, ‘सिरमबाट हामीले थप ५० लाख डोज खोप खरिद गर्न प्रस्ताव गरेका छौं । त्यसमा उनीहरु सकारात्मक पनि छन् । तर, कुन मितिको खोप उपलब्ध गराउन सक्छन् भन्नेमा निर्णय नभएकोले थप व्यक्तिलाई खोप दिन हाललाई बन्द गर्ने निर्णय गरेका हौं ।’

डा. पोखरेलका अनुसार सिरमबाट नेपालले अझै १० लाख डोज खोप प्राप्त गर्नै बाँकी छ जुन केही दिनमै नेपाल आउने जानकारी मन्त्रालयलाई आएको छ । तर, नेपालले खरिद गर्न प्रस्ताव गरेको थप ५० लाख डोजको विषयमा भने छलफल भइरहेको छ । ‘फेरि पनि सिरमबाट खोप प्राप्त हुने सुनिश्चितता भयो भने दोस्रो डोजका लागि भण्डारण गरेर राखिएको खोप पुनः लगाउन सुरु गर्न सकिन्छ । नभए दोस्रो चरणको खोप कार्यक्रम केही सयम रोकिन्छ ।’ उनका अनुसार खोप लगाउँदा खेर जाने प्रतिशत निकै नै कम भएका कारणले सिरमबाट १० लाख डोज खोप प्राप्त भए पहिलो र दोस्रो चरणमा मंगलबारसम्म खोप लगाएकाहरुलाई दोस्रो डोज लगाउन सजिलै पुग्ने आंकलन मन्त्रालयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *