भारतको सत्तारूढ दल भारतीय जनता पार्टीको नेतृत्वले विधानसभा निर्वाचनअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई विशेष महत्त्व दिन थालेको देखिन्छ । आइतवार भाजपाको राष्ट्रिय कार्यकारिणीको बैठकमा भएको गतिविधिले योगीको कद पार्टीमा बढ्न थालेको संकेत दिएको छ । अर्को वर्ष पाँच राज्यमा विधानसभा निर्वाचन हुन लागेको छ । तर योगीलाई मात्र कार्यकारिणी बैठकमा राखियो । बैठकमा योगीले राजनीतिक प्रस्ताव पनि पेश गरेका छन् । बैठकका लागि योगी आफैं दिल्ली पुगेका थिए भने भाजपाको सरकार भएमा उत्तराखण्ड, गोवा र मणिपुरका मुख्यमन्त्रीहरू भिडियो कन्फरेन्सिङमार्फत जोडिए ।
योगीलाई सशरीर उपस्थित गराएर भाजपाले उत्तर प्रदेशमा पुनः सत्तामा आउन योगीको महत्त्वलाई संकेत गरेको छ ।
उत्तर प्रदेशमा पुनः सत्ता प्राप्त गरेमा सन् २०२४ को लोकसभा निर्वाचनमा पनि भाजपा सत्तामा आउने आकलन छ । त्यसैले पार्टीले योगीका लागि आफ्नो सारा शक्ति लगाउने योजना बनाएको देखिन्छ । योगीलाई राजनीतिक प्रस्ताव पेश गर्न लगाउनु पनि त्यसैको संकेत हो ।
राजनीतिक प्रस्ताव वरिष्ठ नेताले प्रस्तुत गर्ने चलन छ । राष्ट्रिय कार्यकारिणीमा पेश गरिएको राजनीतिक प्रस्तावलाई निकै महत्त्वपूर्ण दस्तावेज मानिन्छ किनकि यसले पार्टीको भिजनको संकेत दिन्छ । अनि भाजपाका सरकारहरूले काम गरिरहेको योजनाको उल्लेख पनि त्यसमा हुन्छ ।