यातायात सुचारु गर्ने कार्य जारी

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभाका मुख्य कार्यपाल अनित थापाको निर्दैशमा मिरिक थर्बु चेक पोष्टदेखि राङभाङ खोलासम्म सड़क मरम्मती गरेर यातायात सुचारु गर्ने कार्य चलिरहेको छ। उक्त सड़कको थर्बु 6 नम्बरमा पुल पैह्रोले क्षतिग्रस्त बनाएको थियो। त्यसपछि हालसम्म यातायात ठप्प रहेको छ। मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईले जेसीभी उपलब्ध गराएपछि वैकल्पिक सड़क खनन गरेर यातायात सुचारु गर्ने कार्य भइरहेको स्थानीय ग्राम पञ्चायत सदस्य दिपेन्द्र राईले जानकारी दिएका छन्।
पुल भत्किएपछि यातायातमा बाधा सिर्जना भएको हो। यातायात ठप्प बनेपछि थर्बु चन्द्रमान गाँउ, जमानसिहं गाउँ अनि राङभाङ क्षेत्रका मानिसहरू प्रभावित बनेका पञ्चायत सदस्य दिपेन्द्र राईले बताए। तिनले तिहार पर्व सङ्घारमा रहेकाले यातायात जति सक्दो चाँड़ो सुचारु गर्ने कार्य भइरहेको पनि जानकारी गराए।
अर्कातिर सोही सड़कको फेदी राङभाङ खोलामा पनि सड़क क्षतिग्रस्त बनेपछि राङभाङ खोला फर्काएर यातायात सुचारु गराउने कार्य युद्ध स्तरमा भइरहेको जानकारी प्राप्त भएको छ। उक्त विषयमा बोल्दै सभासद मिलेस राईले यति चाँड़ै पुल निर्माण गर्न गाह्रो हुने बताए। तिहार पर्व सङ्घारमा छ अनि यस्तोमा विकल्प सड़क खनन गरेर यातायात सुचारु गर्ने कार्य भइरहेको तिनले जानकारी गराए।

By Piyali Poddar