छात्राहरूका लागि पोशाकसम्बन्धी तालिबानको कडा नियमविरुद्ध अफगान महिलाहरूले अनलाइनमार्फत् विरोध प्रदर्शन गर्न थालेका छन्।
‘डुनटचमाईक्लोथ’ र ‘अफगानिस्तानकल्चर’ जस्ता ह्यासट्याग प्रयोग गरेर कैयौँ महिलाहरूले परम्परागत रङ्गिन पोशाक लगाएका तस्बिरहरू सामाजिक सञ्जालमा साझा गरिरहेका छन्।
तपाईँले गुगलमा ‘अफगान ट्रेडिशनल क्लोथस्’ टाइप गर्नुभयो भने बहुरङ्गी उनीहरूका सांस्कृतिक पोशाक देखेर दङ्ग हुनुहुनेछ।
उनीहरूका हरेक पोशाक तपाईँलाई विशेष लाग्नेछ। ती कपडामा हातले बुनेका बुट्टाहरू छन् र गहन डिजाइन गरिएको छ।
छातीको वरिपरि स-साना काँचका टुक्रा जडान गरिएको छ। त्यस्तै लामा स्कर्टहरू छन् जुन अफगानिस्तानको राष्ट्रिय नृत्य अट्टनका लागि एकदमै उपयुक्त देखिन्छन्।
केही महिलाहरू बुट्टादार टोपी पनि पहिरिन्छन्। कतिले स्कार्फ लगाएका छन्।
ती सबै कुराहरू महिलाहरू अफगानिस्तानको कुन क्षेत्रबाट प्रतिनिधित्व गर्छन् भन्नेमा निर्भर गर्छ।
विगत २० वर्षमा महिलाहरूले कार्यस्थलदेखि विश्वविद्यालयसम्ममा यस्तै पोशाक लगाइरहेका थिए।
तर यसैबीच एउटा अनौठो घटना भयो।
शरीर पूरै ढाक्ने कालो रङको अभया लगाएका महिलाले गत साता तालिबानको समर्थनमा काबुलमा र्याली निकाले।
उक्त र्यालीमा भाग लिने एक महिलाले आधुनिक पोशाक लगाउने र मेकअप गर्ने महिलाहरूले देशका मुस्लिम महिलाहरूको प्रतिनिधित्व नगर्ने बताइन्।
This is our Afghan authentic dress. Afghan women wear such colorful and modest attires. The black burqa never has been part of the Afghan culture. #FreeAfghanistan🇦🇫 pic.twitter.com/v9LIbcvklG
— Spozhmay Maseed (@spozhmey) September 12, 2021
उनले भिडिओमा भनेकी थिइन्, “महिलाका लागि हामी त्यस्तो अधिकार चाहँदैनौँ- जुन विदेशी कुरा हुन् र शरीया कानुनसँग बाझिने खालका हुन्।”
त्यसपछि विश्वभरिका अफगान महिलाहरूले तालिबानलाई जवाफ दिनका लागि सामाजिक सञ्जालको सहारा लिए।
एक अमेरिकन विश्वविद्यालयकी भूतपूर्व इतिहासकी प्राध्यापक अफगान बहार जलालीले सुरु गरेको सामाजिक सञ्जाल अभियानमा अन्य अफगान महिलाहरू पनि सामेल भए।
उनीहरूले परम्परागत पोशाक लगाएर अगाडि आउँदै ‘डुनटचमाईक्लोथ’ र ‘अफगानिस्तानकल्चर’ जस्ता ह्यासट्याग प्रयोग गरे।
बहार जलालीले अफगानिस्तानको पहिचान र सम्प्रभुतामाथि हमला भएकाले आफूले यस्तो अभियान शुरू गरेको बताइन्।
हरियो रङ्गको अफगान पोशाक लगाएर उनले आफ्नो तस्बिर ट्विटरमा शेअर गर्दै उनले अन्य महिलाहरूलाई पनि ‘अफगानिस्तानको वास्तविक मुहार’ देखाउन आह्वान गरेकी थिइन्।
उनले भनिन्, “म विश्वलाई मिडियामा तालिबान समर्थक र्यालीको जुन तस्बिर आयो त्यो हाम्रो पहिचान हैन भनेर बताउन चाहन्थेँ।”
तालिबान समर्थक उक्त र्यालीमा महिलाहरूले जस्तो पोशाक लगाएका थिए त्यो देखेर धेरै मानिसहरू चकित भएका थिए।
परम्परागत रूपमा रङ्गिन कपडा लगाउने अफगानका लागि पूरै शरीर ढाक्ने कपडा एउटा विदेशी अवधारणा थियो।
अफगानिस्तानका हर क्षेत्रका आफ्ना परम्परागत पहिरन छन्। तर विविधतायुक्त ती पोशाकमा पनि केही कुराहरू मिल्दाजुल्दा छन्।
त्यो भनेको के हो भने- त्यस्ता लुगामा रङ, सिसा र बुट्टाको अधिक प्रयोग हुन्छ।
र, सामाजिक सञ्जालमा अभियान चलाइरहेका सबै महिलाहरू त्यो नै उनीहरूको पहिचान हो भन्ने ठान्छन्।
Attan is #Afghanistan’s national dance performed in group circles.
— Malali Bashir (@MalaliBashir) April 15, 2021
I painted this Attan as this is how I remember Afghan women while growing up.
This is us, not being lashed or stoned. We will remain poets. We will remain artists. We will preserver.
#WorldArtDay2021 pic.twitter.com/l7VQCRiVIF
भर्जिनियाकी एकजना मानवअधिकार कार्यकर्ता स्पोजमे मसीदले ट्विटरमा लेखिन्, “यो हाम्रो वास्तविक अफगान पोशाक हो। अफगान महिलाहरू यस्तो रङ्गिन र साधारण पोसाक पहिरिन्छन्। कालो रङको बुर्का कहिल्यै पनि अफगानिस्तानको पारम्परिक पहिरन थिएन।”
उनी भन्छिन्, “हामी सदियौँदेखि एउटा इस्लामिक देश हौँ र हाम्रा हजुरआमाहरूले साधारण खाले परम्परागत पहिरन लगाउँथे। उनीहरूले नीलो रङको चदरी र अरबको कालो बुर्का लगाउँदैनथे।”
“हाम्रो परम्परागत पहिरनले पाँच हजार वर्षको हाम्रो समृद्ध संस्कृतिलाई प्रतिनिधित्व गर्छ। हरेक अफगानलाई यसप्रति गर्वको अनुभूति हुन्छ।”
अफगानिस्तानको एकदमै अनुदार क्षेत्रमा बस्ने मानिसहरू पनि आफूहरूले कहिल्यै महिलाहरूले कालो रङको नकाब लगाएको देखेको थिइन भन्छन्।
महिला मामिलामा काम गर्ने पेवान्ड अफगान एसोसिएशनकी ३७ वर्षीय अनुसन्धानकर्ता लिमा हलिमा अहमद भन्छिन्, “मैले मेरो तस्बिर किन पोस्ट गरेँ भने हामी अफगान महिला हौँ। हामीलाई हाम्रो संस्कृतिप्रति गर्व छ। हामी के ठान्छौँ भने कोही पनि अनुदारवादी समूह हाम्रो पहिचान तय गर्न सक्दैनन्। हाम्रो संस्कृति श्याम श्वेत छैन। यो त रङ्गिन छ। यसमा सुन्दरता र कला छ।”
अफगानिस्तानमा पछिल्ला २० वर्षदेखि काम गरिरहेकी उनी भन्छिन्, “महिलाहरूलाई विकल्प थियो। मेरी आमा लामो र ठूलो नकाब लगाउँथिन् र अरू केही महिला त्यो भन्दा छोटो नकाब लगाउँथे। महिलामाथि कुनै पोशाकको नियम जबरजस्ती लगाइएको थिएन।”
काबुलमा भएको तालिबान समर्थक महिलाको र्यालीलाई उल्लेख गर्दै उनी भन्छिन्, “हामी अफगान महिला हौँ र हामीले कहिल्यै पनि अफगान महिलाले पूरै शरीर ढाक्ने कपडा लगाएको देखेनौँ। र्यालीमा आउने महिलाले लगाएको कपडा खास तरिकाले सिलाएको जस्तो देखिन्थ्यो।”
यो सामाजिक सञ्जाल अभियानमा भाग लिने अर्की महिला मलाली बशीर प्रागमा पत्रकार छन्।
उनी परम्परागत पहिरनमा सजिएका महिलाहरूको चित्र बनाउँछिन्। उनी त्यसको माध्यमबाट आफ्नो देशको सुन्दरता देखाउन चाहन्छिन्।
उनी भन्छिन्, “गाउँमा (सुरक्षाका कारण उनको गाउँको नाम नलेखिएको) कोही पनि कालो वा नीलो रङको बुर्का लगाउँदैन थिए। मानिसहरू परम्परागत अफगान पोशाक लगाउँथे। वृद्धाहरू शिरमा स्कार्फ लगाउँथे तर कम उमेरका महिलाहरू रङ्गिन सल ओढ्थे। महिलाहरू हात हल्लाएर पुरुषहरूलाई अभिवादन गर्थे।”
“अहिले अफगान महिलालाई पहिरन बदल्न दबाव बढेको छ। उनीहरूलाई पूरा शरीर ढाक्ने कपडा लगाउन भनिएको छ जसले गर्दा मानिसहरूले उनीहरूलाई नदेखुन्। मैले आफूले बनाएको एउटा चित्र पोस्ट गरेकी छु त्यसमा महिलाले परम्परागत अफगान पहिरन लगाएका छन्। त्यसमा उनीहरू अफगानिस्तानका राष्ट्रिय नृत्य अट्टन गरिरहेका छन्।”
तालिबानले चाहिँ महिलाहरूलाई शरीया कानुन र स्थानीय परम्परा अनुसार पढ्न र काम गर्न दिने बताएको छ।
त्यसलाई ख्याल गर्दै केही अफगान महिलाले महिलाको शिर र आँखा समेत ढाक्ने चदरी भनिने नीलो कपडा लगाउन सुरु गरिसके।
काबुल र अन्य सहरमा यस्तो लगाएका महिलाहरू ठूलो सङ्ख्यामा देखिन थालेका छन्।
अफगानिस्तानका उच्च शिक्षा मन्त्री अब्दुल बाकी हक्कानीले विश्वविद्यालयमा महिला र पुरुषलाई अलग्गै राख्न र महिलाले नकाब अनिवार्य लगाउन उर्दी जारी गरेका छन्।
तर उनले शिर छोप्ने कपडा हो वा अनुहार नै ढाक्ने हो भन्ने खुलाएका छैनन्।