फूलबारीको जोतियाकाली मोड़मा आज बिहान एउटा दुखद दुर्घटना भएको छ। यस दुर्घटनामा ग्यास ट्याङ्करको चक्काले किच्दा एउटी महिलाको घटनास्थलमै मृत्यु भयो। यो घटना सिलगढ़ी-जालपाइगढ़ी राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने जोतियाकाली मोड़मा आज बिहान भएको हो। स्थानीय सूत्रअनुसार, दुई महिला स्कुटीमा चम्पासरी क्षेत्रबाट जोतियाकालीको एउटा निजी अस्पतालमा आफन्त भेट्न जाँदै थिए। जब तिनीहरू जोतियाकाली मोड़मा पुगे त्यसै बेला पछिल्तिरबाट द्रुगत गतिमा आइरहेको ग्यास ट्याङ्करले स्कुटीलाई ठक्कर दियो।
ठक्करपछि दुवै महिला सड़कमा पछारिए जसमा एउटी महिलालाई ट्याङ्करको चक्काले किच्यो र तिनको घटनास्थलमै मृत्यु भयो। अर्की महिला पनि गम्भीर रूपले घाइते भएकी छन्। दुर्घटनाको खबर फैलिनेबित्तिकै घटनास्थलमा ठूलो भीड़ जम्मा भयो र आक्रोशित स्थानीय मानिसहरूले विरोधस्वरूप सड़क अवरुद्ध गरे।
स्थिति नियन्त्रणमा लिनका लागि एनजेपी थाना र फूलबारी राजमार्ग ट्राफिक पोस्टबाट ठूलो सङ्ख्यामा पुलिस घटनास्थलमा पुग्यो। भीड़लाई नियन्त्रण गर्न पुलिसले लाठीचार्ज गर्नुपर्यो र अन्ततः पुलिसको हस्तक्षेपमा सड़कबाट अवरोध हटाइयो। स्थानीय मानिसहरूअनुसार यस क्षेत्रमा पटक-पटक यस्ता दुर्घटनाहरू हुँदै आइरहेका छन्। ट्राफिक पुलिससमक्ष थप कठोर सुरक्षा व्यवस्था गर्नुपर्ने तिनीहरूले माग गरेका छन्।