शाहरूखका छोरा बसेको जेललाई किन मानिन्छ भारतकै खतरनाक?

बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान भर्खरै जेलबाट जमानतमा छुटेका छन्। लागुपदार्थमा मुद्दामा पक्राउ परेका उनी मुम्बईको आर्थर रोड जेलमा बीस दिन बसे।

सुपरस्टारका सन्तानसँग जोडिएको हरेक कुरा चर्चामा आउँछ भनेजस्तै अहिले यो जेलको पनि खुबै भइरहेको छ। तर आर्थर जेलको चर्चा अहिले आर्यनका कारण मात्र भएको होइन।

यो जेल आफैंमा भारतको एकदमै चर्चित जेल हो। यो जेलको हावा कयौं कलाकार, अन्डरवर्ल्डका डन, राजनीतिज्ञ, उद्योगपति, आइपीएस अधिकारी जस्ता ‘हाइ-प्रोफाइल’ व्यक्तिहरूले खाइसकेका छन्। यसैकारण पनि यसको चर्चा धेरै नै हुने गर्छ।

यो जेलको नाम सन् १८४२ देखि १८४६ सम्म मुम्बई (त्यो बेला बम्बई) का गभर्नर रहेका सर जर्ज आर्थर नाममा राखिएको हो। यो ब्रिटिश शासनकालको क्रममा, सन् १९२५-१९२६ मा बनेको हो।

सुरूमा यो जम्मा ३ विघा हाराहारी जमिनमा बनेको थियो। तर लगातार कैदी बढ्दै गएपछि जेल फैलिँदै गयो र हाल ९ विघा हाराहारीमा छ। यो मुम्बईकै सबभन्दा ठूलो जेल हो।

केन्द्रीय जेल बनेपछि सन् १९९४ मा आर्थर जेलको नाम ‘मुम्बई मध्यवर्ती कारागृह’ राखिएको थियो। आज पनि यसको आधिकारिक नाम यही हो। तर प्रहरी, अदालत र आम जनताले यसलाई आर्थर रोड जेलकै नामले चिन्छन्।

आर्थर रोड जेललाई भारतकै खतरनाक जेल पनि मानिन्छ। यहाँ संगीन अपराधका, अन्डरवर्ल्डसँग जोडिएका अभियुक्तहरू राखिने भएकाले पनि यसलाई  खतरनाक मानिने गरेको हो।

१२ मार्च १९९३ मा भएको मुम्बई बम धमाकाका अभियुक्त, दाऊद इब्राहिम, छोटा शकील, छोटा राजन र अरुण गवलीका शूटर पनि यही जेलमा बसेका थिए।

गम्भीर अपराध या आतंकवादका अभियुक्तलाई राख्नका लागि यहाँ एक अत्यधिक सुरक्षित कोठा बनाइएको छ। यसमा एकदमै गम्भीर किसिमको अपराध गर्नेहरूलाई एक्लै राखिन्छ। जेलका अधिकारीहरूका अनुसार यस्तो कोठा अन्डाकार हुन्छ र यसलाई अण्डासेल भनेर चिनिन्छ।

अधिकारीहरूका अनुसार आर्थर रोड जेलमा कैदी राखन १४ सामान्य ब्यारेक, एउटा उच्च सुरक्षा सेल र छ अलग-अलग ब्यारेक छन्। पछिल्ला केही वर्षमा यहाँ ब्यारेकको संख्यामा वृद्धि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *