जेईई परीक्षामा पश्चिम बङ्गालमै दोस्रो देवाद्रिता

जेईई (मेन्स)-को पहिलो सेशनमा पश्चिम बङ्गाल राज्यमा सम्भावित दोस्रो स्थान हासिल गर्न सफल भएकी छिन् सिलगढ़ीकी देवाद्रिता दास। दोस्रोपटक परीक्षा दिएर तिनले उत्कृष्ट परिणाम प्राप्त गरेकी छन्। तिनले 99.99 प्रतिशत अङ्क प्राप्त गरेकी छिन्। सिलगढ़ी निर्मला कन्भेण्टकी पूर्व विद्यार्थी देवाद्रिता पश्चिम बङ्गालमा सम्भावित दोस्रो तथा उत्तर बङ्गालमा सम्भावित पहिलो स्थानमा रहेकी छिन्। तिनले आईआईटी बम्बेमा कम्प्युटर साइन्स पढ्ने लक्ष्य राखेकी छिन्। आफ्नो लक्ष्य प्राप्त गर्न तिनले दुई वर्षअघि कोटा गएर एउटा संस्थामा तयारी आरम्भ गरेकी थिइन्। तिनले गएको वर्ष जेईई एडभान्स परीक्षा पनि उत्तीर्ण गरेकी थिइन्।

तर आईआईटी बम्बेमा भर्ना हुनै लाग्दा बिहान अचानक तिनका पिता डा. अरूप दास अस्वस्थ भए। त्यसकारण तिनले भर्नाको मौका गुमाइन्। तर तिनका पिताले छोरीको सपना तोड़िन दिएनन्। तिनले आवश्यक प्रक्रिया पूरा गरेर छोरीलाई पुनः परीक्षा दिनका लागि प्रेरित गरे। मङ्गलवार जेईई (मेन्स) को पहिलो सेशनको परिणाम सार्वजनिक भएपछि दास परिवारमा खुशीको माहोल छाएको छ।
डा. अरूप दासअनुसार देवाद्रिता सानैदेखि मेधावी छात्रा थिई। तर तिनले पढ़ाईसितै गीत तथा नृत्यमा पनि चासो राख्ने गर्थिन्। सर्वभारतीय परीक्षामा तिनको सफलताको प्रमुख कारण भनेकै सेल्फ-स्टडी हो। तिनले नियमित रूपमा अध्ययन गर्दै समयतालिकाअनुसार पढ़ाई गरेकी थिइन्। देवाद्रिताले भनिन्, रूटिनअनुसार मक टेस्ट हल गर्नु अत्यन्त महत्त्वपूर्ण छ। जेईई (मेन्स) को दोस्रो सेशन अप्रेल महीनामा हुने भएकाले तिनले अहिले कड़ा मेहनत गरिरहेकी छिन्। तिनले कक्षा 10 को परीक्षामा समेत पश्चिम बङ्गाल राज्यभर पाँचौँ स्थान हासिल गरेकी थिइन्। सानैदेखि म पिता-आमासित बसेर पढ्थेँ। तर पढ़ाईसितै अन्य चासोहरूलाई पनि पिता-आमाले उत्तिकै महत्त्व दिन्थे, देवाद्रिताले भनिन्। एउटा मात्र सन्तानको यो ठूलो सफलतामा तिनकी आमा देबयानी दास अत्यन्त खुशी छिन्।

By Piyali Poddar