पेट्रोल-डीजल मूल्य वृद्धिको विरोधमा विभिन्न राजनैतिक दल

पेट्रोल-डीजलको मूल्य वृद्धिको प्रतिवादमा तृणमूल कङ्ग्रेस सड़कमा ओलें। सोमवार सिलगढ़ी टाउन तृणमूल कङ्ग्रेस ब्लक एक र दुई तथा तृणमूल युवा कङ्ग्रेसको पक्षबाट सिलगढ़ी हासमी चोकमा प्रतिवाद कार्यसूची पालन गरियो। तृणमूल नेता वेदव्रत दत्तले भने, पेट्रोल-डीजलको मूल्य दिनदिनै बढ्दै गइरहेको छ। जसले गर्दा दैनिक आवश्यक सामग्रीको मूल्य पनि बढिरहेछ भने यसको प्रभाव साधारण मानिसमाथि परिरहेको छ। बीजेपीले साधारण जनतालाई उस्काउँदै बङ्गाल विभाजनगर्ने षड्यन्त्र गरिरहेको छ । आज तृणमूल कङ्ग्रेसको पक्षबाट पेट्रोलको मूल्य सय रुपियाँ गरेकोमा सय लेखेको केक काटेर अनौठो रुपमा प्रतिवाद कार्यक्रम पालन गरियो ।

अर्कोतिर, सोमवार एकै मुद्दाबारे दार्जीलिङ जिल्ला युवा कङ्ग्रेसको पक्षबाट हासमी चोकमा प्रतिवाद कार्यक्रम पालन गरियो। पेट्रोल-डीजलको मूल्य र खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको प्रतिवादमा राफाल सम्झौतामा भ्रष्ट्राचार गरेको प्रतिवादमा विक्षोभ प्रदर्शन गरे । यसबारे कोरोनाको नकली भ्याक्सिन काण्डमा संलग्नहु नेहरूलाई कड़ा सजाय दिनुपर्ने माग पनि गरे । आजको विक्षोभ प्रदर्शनमा दार्जीलिङ जिल्ला युवा कङ्ग्रेस सभापति रोहित तिवारी, अभिषेक मालाकर, आलोक घोष, बापी चौधरी सामेल थिए ।

यसरी नै पेट्रोल अनि खाना पकाउने ग्यासको मूल्य वृद्धि प्रतिवादमा सीपीएम पनि सड़कमा ओलें। सीपीएम डाबग्राम २ नम्बर एरिया कमिटीको पक्षबाट आसीघरको नरेश मोड़मा धरना गरे । यसबाहेक कोरोनाको भ्याक्सिन सबैले पाउनुपर्ने माग पनि गरे । माकपा समर्थकहरूले बताए, कोरोना महामारीको सङ्कटकालीन अवस्थामा देशभरि नै आर्थिक समस्या देखा परेको छ। यस स्थितिमा नर्सिङ होम कतृपक्षले उपचारको निहुँमा मानिसहरूलाई लुटिरहेको छ । त्यतिमात्र नभएर राज्य अनि केन्द्र सरकारले निःशुल्क भ्याक्सिन उपलब्ध गराउने निहुँमा मानिसहरूलाई ब्ल्याक मेल गरिरहेको छ। सीपीएम नेताहरूले नकली भ्याक्सिन काण्डमा सामेल नेताहरूलाई शीघ्र पक्राउ गर्ने माग पनि गरेको छ।

अर्कोतिर, दार्जीलिङ जिल्ला डीवाइएफआइको तर्फबाट पेट्रोल- डीजलसहित विभिन्न आवश्यक खाद्यसाम्रगीको मूल्यवृद्धि साथै पश्चिम बंगालमा टीकालाई लिएर भ्रष्टाचार र अराजकताको विरोधमा सोमवार स्थानीय गान्धी मूर्ति अगाड़ि धरना गरियो । धरना प्रदर्शनमा डीवाईएफआइका जिल्ला प्रसुन मजुमदार र सचिव उदयन दासगुप्तसमेत धेरै संख्यामा अन्य समर्थकहरूले भाग लिएका थिए । यस अवसरमा डीवाइएफआइ नेताले भने, पेट्रोल र डीजलमा दिन-प्रतिदिन वृद्धि भइरहेकोले आम मानिसहरुमा जिउनु साहो भइरहेको छ । उनले केन्द्र र राज्य सरकारलाई चाँडोभन्दा चाँड़ो पेट्रोल र डीजलको मूल्यवृद्धि कम गर्ने माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *