जापानको टोकियो, ओसाकामा खोप केन्द्रहरु खुले

जापान सरकारले टोकियो र ओसाकामा ठूलो सङ्ख्यामा मानिसहरुलाई खोप लगाउन सक्ने गरी खोप केन्द्रहरु सोमबार खुला गरेको छ । जापानमा खोप अभियान सुस्त भएको आलोचना भइरहेका बेला सरकारले व्यापक अभियान थालेको हो ।
टोकियो ओलम्पिक आउन दुई महिना बाँकी रहँदा जापानी सेनाका चिकित्सक र नर्सहरुलाई तीन महिनासम्म यी खोप केन्द्रहरु सञ्चालन गर्ने जिम्मेवारी दिएको छ ।
सेनाका चिकित्सक एवं नर्सहरुले हालैमात्र स्वीकृत गरिएको मोडर्ना कम्पनीका खोप लगाउन थालेका छन् । संयुक्तराज्य अमेरिकामा विकास गरिएको मोडर्नाको खोपलाई जापानमा गत शुक्रबार मात्र औपचारिक अनुमति दिइएको थियो ।
हालसम्म जापानले फाइजर कम्पनीले विकास गरेको खोपलाई मात्र अनुमति दिएको थियो । तर शुक्रबार अस्ट्राजेनिका खोपलाई पनि जापानले आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । यद्यपि जापानले तत्कालै अस्ट्राजेनिकाको खोप लगाउने छैन ।
सरकारले दुई वटा खोप केन्द्रको सञ्चालनबाट आगामी जुलाईको अन्त्यसम्ममा ६५ वा त्योभन्दा बढी उमेरका करिब तीन करोड ६० लाखलाइ खोप दिनेछ । खोप केन्द्रमा आइपुगेकी एक ६६ वर्षीया ज्येष्ठ नागरिकले बिहान ७.३० बजे अघि नै ३० वा ४० जना ज्येष्ठ नागरिक खोप लगाउन आइपुगेको जानकारी दिनुभयो ।
जापानको मन्त्रिपरिषदका सचिव काट्सुनोबु काटोले पत्रकारहरुसँग कुरा गर्दै जतिसक्दो चाँडो बढीभन्दा बढी व्यक्तिलाई खोप लगाउन सरकार क्रियाशील हुने जानकारी दिनुभयो । जापानले आफ्ना करिब तीन करोड ६० लाख ज्येष्ठ नागरिकलाई अप्रिलको मध्यसम्ममा खोप लगाइसक्ने योजना अघि सारेको थियो । फेब्रुअरीमा जापानले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिन थालेको थियो ।
विश्वका अतिसम्पन्न मुलुकमध्येको जापानमा खोप अभियान अति सुस्त छ । जापानको जनसङ्ख्या करिब १२ करोड ६० लाख छ तर हालसम्म करिब ४ प्रतिशतले मात्र खोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *