अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस ग्वाटेमालामा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस उपराष्ट्रपतिका हैसियतमा पहिलो विदेश भ्रमणका सिलसिलामा ग्वाटेमाला पुगेकी छिन् । उनी ग्वाटेमालाको भ्रमणपछि मेक्सिको प्रस्थान गर्ने छिन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष दूतका रुपमा उपराष्ट्रपतिले ती दुई मुलुकको भ्रमण गर्न लागेकी हुन् । उपराष्ट्रपति ह्यारिसले खासगरी सीमा वारपार भइरहेको तस्करी नियन्त्रणका उपायहरु घोषणा गर्ने छिन् । साथै उनले भ्रष्टाचार नियन्त्रणका उपायहरुबारे पनि अमेरिकी धारणा सार्वजनिक गर्ने छिन् ।

राष्ट्रपति बाइडेनले उपराष्ट्रपति ह्यारिसलाई अमेरिका–मेक्सिको सीमामा उत्पन्न आप्रवासनका ठोस कारणहरु पत्ता लगाई त्यसको निराकरणका उपाय पहिल्याउन विशेष जिम्मेवारी दिएका छन् । उपराष्ट्रपतिका सल्लाहकार टोलीका अनुसार ग्वाटेमालाका राष्ट्रपति अलेज्यान्ड्रो जियामाट्टीसँग सोमबार तथा मेक्सिकोका राष्ट्रपति आन्द्रेस मेनुअल लोपेज ओब्राडोरसँग मङ्गलबार हुने बैठकमा खासगरी भ्रष्टाचार नियन्त्रणका उपायका बारेमा छलफल हुनेछ ।

उपराष्ट्रपति ह्यारिस आइतबार अबेर ग्वाटेमाला सिटी आइपुग्नुभएको थियो । उहाँलाई ग्वाटेमालाका विदेशमन्त्री पेड्रो ब्रोलोले स्वागत गर्नुभएको थियो ।
ह्यारिसले ग्वाटेमाला र मेक्सिकोबाट सीमा सुरक्षा र आर्थिक लगानीका क्षेत्रमा व्यापक सहयोगको प्रतिबद्धता चाहनुभएको छ । भ्रमणका क्रममा उहाँले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने बारेमा पनि छलफल गर्नुहुनेछ । अमेरिकाले ग्वाटेमालालाई पाँच लाख तथा मेक्सिकोलाई १० लाख डोज खोप दिने घोषणा गरिसकेको छ ।
मध्य अमेरिकी राष्ट्रहरु होन्डुरस र एल साल्भाडोरबाट हुने मानव पलायनले पनि अमेरिकी सीमामा तनावको वातावरण सिर्जना गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *