अफगानिस्तानमा २० वर्ष लामो अमेरिकी उपस्थिति अन्त्य भएको भोलिपल्ट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले ‘अझै त्यहाँ बसिरहनुको अर्थ थिएन’ भने।
उनले तालिबान शासनलाई छल्न अफगानिस्तानबाट बाहिर निस्कन चाहने एक लाख २० हजारभन्दा बढीको हवाई उद्धार गरेकोमा सेनाको प्रशंसा गरे।
इस्लामिक विद्रोही समूह तालिबानले चाहिँ अमेरिकी बहिर्गमनलाई जितका रूपमा अर्थ्याउँदै उत्सव मनाएको छ।
सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको हमलापछि उसको नेतृत्वमा अफगानिस्तानमा अन्तर्राष्ट्रिय सेना प्रवेश गरेर तालिबान सत्तालाई अन्त्य गरिदिएको थियो।
अमेरिकामा भएको आतङ्कवादी हमलाको जिम्मा लिएको अलकायदाको आधार उक्त देश रहेको भन्दै त्यसबेला अमेरिकाले हमला गरेको थियो।
अचानक अमेरिकी फौज फिर्ता गर्ने निर्णयलाई लिएर बाइडनले देशभित्र र अमेरिकी साझेदार राष्ट्रबाट व्यापक आलोचना खेप्नु परेको छ।
उक्त निर्णयका कारण अमेरिकी फौजले वर्षौँ तालिम दिएको र ठूलो धनराशि खर्चेको अफगान सुरक्षा फौजको अस्वाभाविक रूपमा पतन भएको थियो।
तालिबानले पूरै देशलाई ११ दिनभित्र नियन्त्रणमा लिन सफल भएको थियो।
गत अगस्ट १५ मा राजधानी काबुल प्रवेश गरेपछि अफगानिस्तानको शक्ति उसको हातमा पुगेको हो।
राष्ट्रपति बाइडनले अमेरिकीहरू, अन्य साझेदार देशका नागरिकहरू र अमेरिकीका लागि काम गरेका तर अफगानिस्तान छाड्न चाहने अफगानहरूको उद्धारका लागि विमानस्थलमा नियन्त्रण गर्नका निम्ति ६ हजार सैनिकहरू त्यहाँ पठाएका थिए।
उद्धारका लागि हुने उडानहरूबाट विदेश जान पाउने आशामा हजारौँ मानिसहरू काबुल विमानस्थल पुगेका थिए।
मङ्गलवारको सम्बोधनमा बाइडनले आम उद्धार कार्यका लागि सेनाको प्रशंसा गरे र अझै अफगानिस्तानमा रहेका र अमेरिका जान चाहने करिब २०० मानिसहरूको उद्धार गर्न लगातार प्रयास गर्ने प्रतिबद्धता पनि जनाए।
उनले फौज फिर्ता गर्ने निर्णयको कडा रूपमा बचाउ गरेका छन्।
उनले भने, “म त्यसलाई सधैँको युद्धका रूपमा बिस्तार गर्न गइरहेको थिइनँ, अफगानिस्तानमा अब युद्ध समाप्त भएको छ।”