अफगानिस्तानलाई मानवीय सहायता दिन अमेरिका सहमत: तालिबान

अफगानिस्तानलाई मानवीय सहायता दिन अमेरिका सहमत भएको तालिबानले बताएका छन्। अमेरिकाले अफगानिस्तान छोडेयता भएको पहिलो वार्ताको समापनपछि तालिबानले सो जानकारी दिएका हुन्। वार्ता कतारमा भएको थियो। सहायताबाहेक अमेरिकी नागरिकको सुरक्षित बहिर्गमन र चरमपन्थी समूहहरूको नियन्त्रणका विषयमा पनि वार्तामा छलफल भएको बताइएको छ। अमेरिकी अधिकारीहरूले छलफल खुला र व्यावसायिक भएको बताउँदै तालिबानलाई कार्यान्वयनको आधारमा मूल्याङ्कन गर्ने बताएका छन्। अमेरिकाले सो भेटघाटले तालिबानलाई मान्यता दिएको अर्थ नराख्ने बताएको छ। आइतवार राति जारी विज्ञप्तिमा तालिबानले भनेको छ: “अमेरिकी प्रतिनिधिहरूले अफगानलाई मानवीय सहायता दिने र अन्य सङ्घसंस्थालाई त्यस्तो सहयोग दिन सहयोग गर्ने बताएका छन्।” विज्ञप्तिमा तालिबानले “पारदर्शी रूपमा मानवीय सहयोग दिने परोपकारी समूहहरूसँग समन्वय गर्ने र विदेशी नागरिकको अनुशासित यात्रालाई सहयोग गर्ने” बताएको छ।

यद्यपि अमेरिकाले सहायताको कुरालाई औपचारिक रूपमा पुष्टि गरेको छैन। प्रवक्ता नेड प्राइसले दुई पक्षले “अफगान नागरिकका लागि प्रत्यक्ष सहायता”को बारेमा छलफल भएको बताए तर यसको थप विवरण दिएनन्

“अमेरिकी प्रतिनिधिमण्डल सुरक्षा र आतङ्कवाद, अमेरिकी नागरिक, अन्य विदेशी नागरिक र अमेरिकालाई सहयोग गरेका अफगानका लागि सुरक्षित मार्गका साथसाथै अफगान समाजको सबै क्षेत्रमा महिला र किशोरीहरूको अर्थपूर्ण सहभागिता लगायतका मानव अधिकारका विषयमा केन्द्रित रह्यो,” प्राइसले भने।

अफगानिस्तानमा मानवीय सङ्कट आउन सक्ने चेतावनीका बीच सो वार्ता भएको हो।

विश्व ब्याङ्कका अनुसार अफगानिस्तानको कुल गार्हस्थ उत्पादनको ४० प्रतिशत विदेशी सहायतामा निर्भर थियो।

अगस्ट १५ मा तालिबानले कब्जा गरेपछि अमेरिकाले अफगानिस्तानको केन्द्रीय ब्याङ्कको एक खर्ब अमेरिकी डलर रोक्का गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *