मादक पदार्थ किन्न आएका दुई युवक पुलिसको हातमा परेका छन्। भारत-नेपाल सिमानाको पानी ट्याङ्की क्षेत्रबाट खोरीबारी थाना पुलिसले तिनीहरूलाई मादक पदार्थसहित पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा आइतवार राति पुलिसले नेपाल सिमानानजिकै पानी ट्याङ्कीसँग जोड़िएको गौरसिङजोतको एउटा घरमा छापा मारेको थियो।
त्यस घरमा लामो समयदेखि मादक पदार्थको कारोबार चलिरहेको खबर थियो। पुलिस त्यहाँ पुग्दा घरका मालिक तथा मादक पदार्थ कारोबारीले सुइँकुच्चा ठोके। तथापि ब्राउन सुगर किन्न आएका दुई युवक पुलिसको हातमा परे। तिनीहरूबाट 58 ग्राम ब्राउन सुगर फेला पऱ्यो। त्यसपछि पुलिसले उक्त घरमा खोजी गर्दा मादक पदार्थ बेचेर जम्मा गरिएको नगद 1 लाख 74 हजार रुपियाँ पनि प्राप्त भयो।
मादक पदार्थ कारोबारीलाई पक्राउ गर्न नसके पनि दुई ग्राहकलाई पुलिसले नियन्त्रणमा लिएको छ। पक्राउ परेका दार्जीलिङको जोरबङ्गलोका वासिन्दा अभिरुल सुबा र प्रज्ज्वल राई हुन्। पुलिसले तिनीहरू त्यहाँ ब्राउन सुगर किन्न पुगेका बताएको छ। खोरीबारी थाना पुलिसले तिनीहरूको बाइक पनि जफत गरेको छ। पक्राउ परेका व्यक्तिहरूलाई सोमवार सिलगढ़ी महकुमा न्यायालयमा पेश गरिनेछ। अर्कातिर पुलिसले सुइँकुच्चा ठोकेका मादक पदार्थ कारोबारीको खोजी आरम्भ गरेको छ।