आइतवार फूलबारी सीमामा उत्सवको माहोल देखियो। लामो समयपछि भारतको ढुह्गा बोकेको ट्रकको चक्का बङ्गलादेशतर्फ बढ्यो। आज अपराह्नसम्म भारतबाट 63 वटा ढुङ्गा बोकेको ट्रक र 4 वटा चामल बोकेको वाहनसहित 67 वटा वाहनहरू बङ्गलादेशतर्फ प्रस्थान गरेका छन्। यसकारण इद अनि दुर्गा पूजामा जस्तै स्थानीय मानिसहरू उत्साहित देखिए। दिउँसो 1 बजी नरिवल फुटाएर यस यात्राको शुभारम्भ गरियो। यसरी निरन्तर चलिरहे स्थानीय अर्थतन्त्रले फेरि गति लिने धेरै बताए। फूलबारी एक्सपोर्टर युनियनका अध्यक्ष जमिर बादशाहले भने, झण्डै तीन वर्ष लामो सङ्घर्ष आज (आइतवार) सफल भयो। यहाँका हजारौँ गाड़ी मालिकहरूमा फेरि आशा जागेको छ। साथै हजारौँ चालक र सहचालकहरूको रोजगार पनि कायम हुनेछ।
फूलबारीका व्यापारी शुभङ्कर नस्करले भने, यहाँका हजारौँ मानिसहरूको आम्दानी बढ्दा यसले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउँछ। प्राप्त जानकारीअनुसार, फूलबारी सिमाना व्यापारसित प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लगभग 50 हजार मानिसहरूको हित जोड़िएको छ। व्यापारीहरूको भनाइअनुसार फूलबारी क्षेत्रमा अहिले लगभग दुई हजार ट्रकहरू छन्। मालिक र कर्मचारी गरी छ-सात हजार परिवार यी ट्रकहरूमाथि निर्भर छन्। विगत तीन वर्षमा व्यापारमा मन्दीको कारण यी ट्रकहरू र क्षेत्रका सयौँ साना पसलहरूको व्यापार प्रभावित भयो। यसको प्रभाव स्थानीय बजार, रिक्शा-टोटो चालकहरू र अन्य व्यवसायीहरूमा पनि परेको थियो। सामूहिक रूपमा 50 हजारभन्दा अधिक मानिसहरू यसबाट प्रभावित भएका स्थानीय स्तरले मानेको छ। तर आइतवारदेखि यो समस्या समाधान हुने आशा धेरैले गरेका छन्। लामो समयदेखि थन्किएर बिग्रन लागेको ट्रकहरू धेरैले मरम्मती गर्न थालेको खबर छ।
बङ्गलादेशमा आयातको सन्दर्भमा भारत र भूटानका ढुङ्गीको माग छ। केही वर्षदेखि यसले फूलबारी सीमामा जटिलता ल्याएको थियो। भारतको ढुङ्गा बोकेको ट्रक बङ्गलादेश जान सरकारी कोषमा हजारौँ रुपियाँ कर तिर्नु पर्थ्यो। तर भूटानको ट्रक फूलबारी सीमाबाट बङ्गलादेश जाँदा यस्तो कर तिर्नु पर्दैन थियो। यसकारण बङ्गलादेशमा भारतीय ढुङ्गाको मूल्य धेरै महँगो हुने गर्थ्यो। यस समस्याको कारण बङ्गलादेशमा भारतको ढुङ्गाको माग घट्न थाल्यो। अर्कातिर, भूटानको ट्रक बङ्गलादेश पठाउन फूलबारीमा एउटा सिण्डिकेटले काम गरिरहेको आरोप थियो। भूटानको ट्रक बङ्गलादेश जाँदा स्थानीय व्यापारीहरू प्रभावित भए। यसकारण केही वर्षदेखि ट्रक मालिक-चालक र व्यापारी सङ्घहरूले आन्दोलन गर्न थाले। केही दिनअघि स्थानीय प्रतिनिधि मण्डल कोलकातामा राज्यका यातायात मन्त्री स्नेहाशीष चक्रवर्तीसित भेट्न गएको थियो। त्यसपछि भूटानका ट्रक बङ्गलादेश जान चाहे कर तिर्नुपर्ने यातायात विभागले घोषणा गऱ्यो। त्यसपछि भूटानका ट्रकहरूले फूलबारीतर्फ जान छोड़ेका छन्। पहिले नै घोषणा गरेअनुसार, आइतवारदेखि भारतको ढुङ्गा बोकेको ट्रक बङ्गलादेश पठाउन आरम्भ गरिएको छ।यसबाट सिमाना व्यापारमा संलग्न मोहम्मद सुल्तान, खैरुल मोहम्मद, गोफर खान जस्ता धेरैले उत्साह व्यक्त गरेका छन्। प्रत्येक दिन बिहान 9 बजीदेखि गाड़ीहरू सिमाना पार गरेर बङ्गलादेश जान्छन्। तर आइतवार फूलबारी कस्टम्स अफिसमा केही प्राविधिक समस्या हुँदा काम ढिलो भयो। त्यसको कारण दिउँसो 1 बजी भारतको पहिलो गाड़ी बङ्गलादेश प्रवेश गर्योद। फूलबारी-2 ग्राम पञ्चायतका प्रधान रफिकुल इस्लाम, उप-प्रधान किशोरचन्द्र राय लगायत धेरैजना त्यहाँ उपस्थित थिए। तर आइतवार भूटानको कुनै गाड़ी फूलबारी सीमाबाट बङ्गलादेश गएन।