मतदाता सूचीको संशोधनका क्रममा स्पेशियल इण्टेन्सिभ रिभिजन अर्थात् एसआईआर प्रक्रियाको नाममा सर्वसाधारणलाई हैरान गराइरहेको आरोपमा सिलगढ़ीको स्थिति गर्मिइएको छ। मङ्गलवार बिहानदेखि शहरको सबैभन्दा व्यस्त तीन बत्ती मोड़ अवरुद्ध गर्दै तृणमूल कङ्ग्रेसका नेता–कार्यकर्ताहरू प्रदर्शनमा उत्रिए। यस कार्यक्रमका कारण सिलगढ़ीका प्रमुख प्रवेश मार्गमध्ये एकमा लामो समयसम्म वाहनहरूको आवागमन अवरुद्ध भयो।
प्रदर्शन स्थलमा उपस्थित डाबग्राम–फूलबारी ब्लक तृणमूल अध्यक्ष दिलीप रायले चुनाउ आयोगको भूमिकाबारे कठोर शब्दमा आलोचना गरे। दीलप रायअनुसार मतदाता सूची संशोधनको बहानामा सर्वसाधारणलाई पटक–पटक कार्यालयमा बोलाइरहेको अनि अनुचित रूपमा कागजात मागेर हैरान गरिँदैछ। दिलीप रायले भने, चुनाउ आयोगले जानाजानी यस्तो जटिलता सिर्जना गरिरहेको छ जुन पूर्ण रूपमा लोकतन्त्रविरुद्ध छ। सर्वसाधारणको अधिकार जोगाउनकै लागि आज हामी सड़कमा उत्रिएका हौँ।
तृणमूल नेतृत्वअनुसार, वर्तमान प्रदर्शन प्रतीकात्मक आरम्भ मात्र हो। यदि आयोगले तुरुन्तै एसआईआरको नाममा सर्वसाधारणलाई हैरान गर्नु बन्द नगरे आगामी दिन राज्यभरि अझ बृहत र कठोर आन्दोलन आरम्भ गरिनेछ। प्रदर्शनका क्रममा कुनै अप्रिय स्थिति नहोस् भनेर घटनास्थलमा ठूलो सङ्ख्यामा पुलिस बल तैनाथ गरिएको थियो। आगामी चुनाउअघि मतदाता सूचीबारे तृणमूलको यस आक्रामक अड़ानले एसआईआर विवादलाई थप उक्साएको राजनीतिक वृत्तको आँकलन छ।
एसआईआर हैरानीको विरोधमा तृणमूलद्वारा सड़क अवरोध
