सामान्य अर्थमा नेशनल हाइवे अर्थात राष्ट्रिय राजमार्ग भनेर बुझिन्छ । देशको अर्थनैतिक, रणनैतिक, सामरिक महत्त्वलाई हेरेर सड़कलाई राष्ट्रिय अनि राज्य सड़कमा वर्गीकरण गरिन्छ । राष्ट्रिीय राजमार्ग भन्नेबित्तिकै मानिसहरूले अन्य ठाउँका राजमार्गहरूसँग स्वाभाविक रूपले तुलना गर्छन् जहाँ निर्वाध रूपले गाडीहरूका अवागमन, चार लेन नभए पनि टु लेनका सड़क, जहाँ सुरक्षित र सुविधा सम्पन्न यात्राका लागि सबै प्रबन्ध गरिएको हुन्छ भन्ने बुझ्छन् तर राष्ट्रिीय राजमार्ग १० को अवस्था त्यस्तो छैन ।
जुन सड़कसँग देशको सुरक्षा, प्रभुसत्ता, रणनैतिक, आर्थिक अनेक आयामहरू जोडिएका छन्, अहिले सो सडकको अवस्था चिन्ताजनक छ, जुन सड़क भएर यात्रा गर्नु एउटा नराम्रो अनुभवबाहेक अर्थोक केही होइन । धेरै लामो समय बितेको छैन जब राष्ट्रिय राजमार्ग १० भारत सरकारको रक्षा मन्त्रालयअधीन थियो । बाह्रै महीना काम भइरहने, आपातकालीन समयका निम्ति सदैव ठूल्ठूला मशिन तैनाथ रहने, क्षेत्रका सैकड़ों मानिसहरूले बाह्रै महीना काम पाइरहने, चीन सीमासँग जोड़िने हुनाले राष्ट्रिीय राजमार्ग १० को महत्त्व बेग्लै थियो। रक्षा मन्त्रालय अधीनस्थ सीमा सडक संगठनद्वारा सञ्चालित सड़कको दुवैतर्फ बर्खामासमा झार-जंगल फाँडफुड गरेर भित्तामा चुना लगाएर चालकहरूलाई गाड़ी चलाउन सुविधा दिइने गरिन्थ्यो तर अब ती सब छैनन् ।
राज्य सरकार अधीनस्थ पब्लिक वर्क्स डिपार्टमेण्टले सड़क निर्माणको अभिभारा लिएपछि विस्तारै राष्ट्रिय राजम र्गको अवस्था एउटा राज्य सञ्चालित सड़कभन्दा पनि गए गएको भयो । राष्ट्रिीय राजमार्ग -१० को अधोगति हुनुमा आवण्टन गरिने कोषको सबैभन्दा धेरै उत्तरदायित्व छ। सड़क भत्किपछि विभागीय अधिकारीहरू जाँच गर्न आउने, त्यसपछि बजट आवण्टन हुने अनि मात्र सो सम्बन्धी काम हुने हो । टिस्टा नदीमाथि बनिएका दुइवटा जलविद्युत परियोजना पनि राष्ट्रिय राजमार्ग १० अधोगतितर्फ लाग्ने महत्त्वपूर्ण कारकहरू हुन् । विद्युत उत्पादनका लागि पानी रोकेर राख्नुपर्ने भएकोले सड़क तानिने क्रम जारी छ। मानिसहरू भन्छन्, धेरै वर्ष छैन जब राष्ट्रिीय राजमार्ग नै परियोजनाको कारण टिस्टा नदीमा पुग्नेछ । अहिलेको स्थिति हेर्दा लाग्छ, यो समय धेरै लामो छैन ।
पहिरो अनि पहिरोको कारण लाग्ने लामा लामा जाम राष्ट्रिय राजमार्ग १० को दैनिक क्रिया बनेको छ पहिरो अनि जामको कारण यात्रीहरू लामो समयसम्मम फँसिरहेका छन् । परीक्षार्थीहरू समयमा पुग्न नसकेर परीक्षा दिनबाट वञ्चित भइरहेका छन् । विरामीहरू उपचार हेतु समयमा पुग्न सकेका छैनन्, अर्थात् दैनिक रूपमा भइरहेको यातायात बाधाको कारण मानिसहरू समस्यामा परिरहेका छन् । यसबाट निकासी तब मात्र सम्भव छ, जब सरकारले यसका लागि एउटा व्यापक कार्ययोजना तयार गर्नेछ, धनराशिको कमी हुन नदिई योग्य र अनुभवी ठीकादारहरू मार्फत कार्य गराउनेछ ।