टोयट्रेनको स्टीम जङ्गल टी सफारी सेवा आरम्भ

भिस्टाडोम कोचमा टोयट्रेनको स्टीम जङ्गल टी सफारी सोमवारदेखि आरम्भ गरिएको छ। उत्तर-पूर्व सीमान्त रेलवेले पर्यटकहरूको निम्ति सिलगढ़ी जङ्कशन र रङटङ स्टेशनमाझ विश्व धरोहर टोयट्रेनको स्टीम जङ्गल टी सफारी सेवा आरम्भ गरेको हो । तर यो सेवा आरम्भ भएको पहिलो दिन सोमवार टोयट्रेनमा एकैजना पनि पर्यटक सवार थिएन । केवल एकजना व्यक्तिले टिकट काटेर जङ्गल टी सफारीमा सवारी गरे । तिनी पनि पर्यटक नभएर सिलगढ़ीका विशिष्ट टूर अपरेटर सम्राट सन्याल थिए। टोयट्रेनको स्टीम जङ्गल टी सफारीको यात्रा गर्ने आफ्नो निर्णयबारे सम्राट सन्यालले भनेअनुसार यात्रा अवधिको आफ्नो अनुभव पर्यटकहरूसँग साझा गर्ने उद्देश्यमा नै तिनले टिकट काटेर जङ्गल टी सफारीको आनन्द लिएका हुन्।

तिनले भने, कोरोनाकालले गर्दा मर्कामा परेको पर्यटन उद्योगलाई लयमा फर्काउन रेलवेको यस पहललाई सफल र लाभदायी बनाउने जिम्मेवारी हाम्रो पनि हो किनभने रेलवेको यो प्याकेज एकदमै आकर्षक छ । यसैबीच विभिन्न पक्षले आरोप लगाएअनुसार कुनै प्रचार नगरी नै जङ्गल टी सफारी आरम्भ गरियो। भाड़ा अत्यधिक भएको कारण पनि टोयट्रेनको स्टीम जङ्गल टी सफारीमा पर्यटकहरू नचढ्नुको प्रमुख कारण रहेको धेरैको भनाइ छ । तर सोमबार जङ्गल टी सफारीको शुभारम्भ गर्ने एडीआरएम सञ्जय चिलवारले यस्तो आरोप अस्वीकार गरेका छन् ।

तिनले भने, सबै माध्यमको सदुपयोग गर्दै हामीले राम्ररी प्रचार गर्नु पर्नेछ । एकदमै कम्ती समयमा जङ्गल टी सफारी आरम्भ गरियो। टूर अपरेटरहरू पनि अगाडि आउनु पर्नेछ । सिलगढ़ी जङ्क्शन र रङटङ स्टेशनमाझ चल्ने जङ्गल टी सफारीमा प्रति व्यक्ति भाड़ा अहिले ९७० रुपियाँ छ । पर्यटनको चरम मौसममा प्रति व्यक्ति भाड़ा १२०० रुपियाँ हुनेछ । १२०० रुपियाँमा पर्यटकहरूले विश्व धरोहर टोयट्रेनको भिस्टाडोम कोचमा सवार भएर पहाड़को भ्रमण गर्ने अवसर पाउँछन् । सिलगढ़ी जक्शनबाट अपराह्न २.४५ बजी छुटेर जङ्गल टी सफारी ट्रेन अपराह्न ४.२० बजी रङटङ पुनेछ । त्यहाँ पर्यटकहरूलाई चिया चमेना र घुमफिरको केही समय दिइनेछ । त्यसपछि बेलुकी ६.०५ बजी टोयट्रेनको जङ्गल सफारी ट्रेन सिलगढ़ी जङ्क्शन फर्किन्छ ।

सोमवार पनि अपराह्न २.४५ बजी जक्शनबाट रङटङ रवाना भएको भिस्टाडोम जङ्गल टी सफारी ट्रेन बेलुकी ६.०५ बजी सिलगढ़ी फर्कियो । यस जङ्गल टी सफारीको भाड़ा अत्यधिक भएको पर्यटकहरूमध्ये धेरैको भनाइ छ । यसबारे एडीआरएमले भने, सबैको मत लिएर नै यस विषयलाई रेलवे बोर्डसमक्ष राखिएको थियो । पहिले साताको शनिवार र आइतवार जङ्गल टी सफारी ट्रेन चलाउने विचार गरिएको थियो । तर विभिन्न पक्षको प्रस्तावलाई ध्यानमा राखेर हामीले प्रत्येक दिन नै यो ट्रेन चलाउने निर्णय लिएका छौं । त्यसरी नै विभिन्न पक्षको मतमा रेलवे बोर्डले यदि निर्णय लिए भाड़ा कम्ती गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *