एकतर्फ एशियन फोक फेष्ट अर्कातिर क्रिसमस। यी दुई आकर्षणले गर्दा लाटागुड़ी पर्यटकहरूले भरिएको छ। तर लाटागुड़ी आएर फोक फेष्टको आनन्द लिए पनि पर्यटकहरूले जङ्गल सफारी गर्न पाएनन्। बुधवार साप्ताहिक बिदाको रूपमा लाटागुड़ी जङ्गल बन्द रहन्छ। त्यसैले नजिकै पुगेर पनि जङ्गलभित्र छिर्न नपाउँदा धेरै पर्यटकहरू निराश बने। यसअघि पनि धेरैपल्ट साप्ताहिक बिदा हुँदाहुँदै पर्यटकहरूको भीड़लाई ध्यानमा राखेर वन विभागले सफारीको अनुमति दिएको थियो। यो वर्ष भने वन विभागले सफारी खुल्ला राख्ने अनुरोध अस्वीकार गरिदिको छ। क्रिसमसदेखि नयाँ वर्षको आरम्भसम्म डुवर्सका सबै ठाउँहरूमा पर्यटकहरूको अत्यधिक भीड़ हुने अनुमान पर्यटन व्यवसायीहरूले अग्रिम बुकिङबाट नै गरेका थिए। यसमा लाटागुड़ी पनि अपवाद भएन। जङ्गल भ्रमण, वन्यजन्तु अवलोकनसितै यसपल्ट मुख्य आकर्षण बनेको छ लाटागुड़ीमा आयोजन भएको एशियन फोक फेष्ट। देश–विदेशका कलाकारहरूलाई हेर्न धेरैका लागि लाटागुड़ी गन्तव्य बन्यो। यससँगै जङ्गल भ्रमण गर्न पाउनु भनेको सुनमा सुगन्ध जस्तै हो। क्रिसमसको दिन पर्यटकहरूको यति धेरै भीड़ थियो कि गोरुमाराको चारवटा वाच टावरबाट चार शिफ्टमा 123 वटा जिप्सी गाड़ी जङ्गलभित्र प्रवेश गरेका थिए। तर लाटागुड़ीको जङ्गलमा जङ्गल सफारी बन्द थियो। त्यसैले कुनै पनि पर्यटकलाई सफारीको अनुमति वन विभागले दिएन। सोही दिन बेहालाका वासिन्दा, पेशाले शिक्षक, देवव्रत दासगुप्ता सपरिवार जङ्गल सफारी गर्न आइपुगेका थिए। टिकट नपाएर निराश हुँदै फर्किए। त्यस्तै अनुभव भयो मालदाको सुजापुरका दिनेशचन्द्र सरकारलाई। सरकारले भने, साथीहरूसित लाटागुड़ीको जङ्गल हेर्न आएका थियौँ। जङ्गल सफारीको टिकट नै पाएनौँ। मन खराब भयो।
लाटागुड़ी जिप्सी ओनर्स वेलफेयर एसोसिएशनका सचिव समीर देवअनुसार, विगतमा धेरैपल्ट विशेष दिनहरूमा साप्ताहिक बिदा भए पनि त्यति कठोरसित पालना गरिँदैन थियो। विशेष दिनहरूमा पर्यटकहरूका लागि जङ्गल प्रवेशको अनुमति दिइन्थ्यो। तिनले भने, यो वर्ष पनि भीड़लाई ध्यानमा राखेर वन विभागलाई सफारी खुल्ला राख्ने अनुरोध गरिएको थियो। तर अनुमति नपाउँदा धेरै पर्यटकहरू निराश भएर फर्के। यस्तै धारणा लाटागुड़ी रिसोर्ट ओनर्स वेलफेयर एसोसिएशनका सचिव दिव्येन्दु देवको छ। तिनको विचारमा पर्यटकहरूको सुविधालाई ध्यानमा राखेर वन विभागले आज जङ्गल सफारी खुल्ला राख्नुपर्थ्यो। तर वन विभाग भने केवल पर्यटकहरूको पक्षमा नरहेको देखिन्छ। लाटागुड़ी रेञ्जका रेञ्जर सञ्जय दत्तले भने, जङ्गलमा वन्यजन्तुलाई पनि आरामको आवश्यकता हुन्छ। आज साप्ताहिक बिदा भएको हुँदा नियमअनुसार जङ्गल सफारी बन्द गरिएको हो।