अब उत्तर बङ्गालमा पनि मिष्टी हब हुनेछ। तर कुन जिल्लामा यसलाई निर्माण गरिने हो त्यसबारे अन्तिम निर्णय भएको छैन। राज्यको खाद्य प्रशोधन र बागवानी विभागका मन्त्री अरूप रायले बिहीवार सिलगढ़ीमा भने, यो केवल चर्चा मात्र होइन। मिष्टी व्यापारीहरूले आज मलाई उत्तर बङ्गालमा मिष्टी हबको प्रस्ताव दिएका छन्। एक महीनाभित्र यसबारे पुनः व्यापारीहरूसित छलफल गर्नेछु। हामी हब बनाउनेछौँ।
कलकत्ताको न्यु टाउनको इको पार्कमा मिष्टी हब छ। त्यस्तै ढाँचामा उत्तर बङ्गालको कुनै स्थानमा हब निर्माण गरिए व्यवसायीहरूले ठूलो लगानीको आश्वासन दिएका छन्। खाद्य प्रशोधनसितै विभिन्न विषयहरूमा छलफल गर्न उत्तर कन्यामा कार्यशाला आयोजना गरिएको थियो। त्यहाँ उत्तर बङ्गालका विभिन्न जिल्लाका चेम्बर अफ कमर्सका प्रतिनिधिहरू सहभागी भए। साथै विभिन्न व्यावसायिक संस्थाका प्रतिनिधिहरू पनि उपस्थित थिए। कार्यशालामा पश्चिम बङ्गाल मिष्टान्न व्यवसायी सङ्घका संयुक्त सचिव सञ्जीव बनिकले मन्त्रीलाई भने, “उत्तर बङ्गालमा धेरै मिष्टी व्यापारीहरू छन्। त्यसैले हाम्रो अनुरोध छ यहाँ एउटा मिष्टी हब बनाइयोस्। धेरैपल्क देशका विभिन्न स्थानका र विदेशी पर्यटकहरूले यहाँ आएर विभिन्न प्रकारका मिष्टीहरूको खोजी गर्छन्। यदि तिनीहरूलाई हबमा लैजान सकिए प्रचार बढ्नेछ र व्यवसायीहरूलाई लाभ हुनेछ। यस विषयमा कार्यशालापछि मन्त्रीले व्यवसायीहरूसित छलफल गरे। त्यसपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले भने, उत्तर बङ्गालका मिष्टी व्यापारीहरूको प्रस्ताव हामीलाई राम्रो लाग्यो।
कोल्ड स्टोरेजको समस्या, खाद्य प्रशोधन उद्योगसँग सम्बन्धित समस्याहरूबारे उद्योगपतिहरूले मन्त्रीसँग कुराकानी गरे। सीआईआईका उपाध्यक्ष प्रदीप सिङ्घल, मोहन देवनाथ, फोसिनका महासचिव बिष्णुजीत दास, विजयगोपल चक्रवर्तीजस्ता व्यक्तिहरूले समग्र स्थितिबारे जानकारी दिए। त्यसपछि मन्त्रीले भने, खाद्य प्रशोधनसँग सम्बन्धित हामी केही पहल गर्दैछौँ। विशेष गरी दार्जीलिङको सुन्तला विश्व प्रसिद्ध छ, तर केही रोगको कारण यसको उत्पादनमा ह्रास आएको छ। हामी त्यसमाथि ध्यान दिइरहेका छौँ।” अरूपले भने, उत्तर बङ्गालमा लगानी गर्न चासो देखाउने धेरै छन्। तर केहीले समस्याहरूबारे पनि कुराकानी गरे। सबै कुरा छलफलमार्फत समाधान गर्नुपर्छ। आवश्यक परेमा विशेषज्ञको सल्लाह लिनेछौँ। दार्जीलिङको सुन्तलाको उत्पादन बढ़ाउन आवश्यक कदम चाल्न आज छलफल भएको मन्त्रीले जानकारी दिए। भाइरल रोगको कारण यो वर्ष उत्पादन घटेको छ। तर आगामी दिन राम्रो हुने विश्वास गरिएको छ।