लुटपाटको मामिलामा तीन आरोपी पक्राउ

फूलबारीमा दिउँसै लुटपाटको घटनामा तीनजना आरोपीहरूलाई पक्राउ गरी चोरीको सामान उद्धार गरिएको छ। प्राप्त जानकारीअनुसार, 27 अप्रेल आइतवार फूलबारीमा भएको छिनताईको घटनाले क्षेत्रमा सनसनी फैलिएको थियो। उक्त दिन दिउँसो फूलबारी नजिकैको बटालियन मोड़ क्षेत्रमा मोटर साइकलमा सवार दुई बदमाशहरूले दुई महिलाको झोला थुतेर सुइँकुच्चा ठोकेका थिए।

फूलबारीको पूर्वी धनतला क्षेत्र निवासी अनिमा दास र अनिता महन्ता आफ्ना घरबाट बजारतर्फ जाँदै गर्दा पछाड़िबाट मोटर साइकलमा आएका दुई बदमाशहरूले तिनीहरूको झोला थुतेर तीव्र गतिमा भागेका थिए।
चोरी भएको झोलामा केही रुपियाँ र विभिन्न महत्त्वपूर्ण कागजातहरू थिए। घटनापछि फूलबारी क्षेत्रमा व्यापक खैलाबैला मच्चियो। जानकारी प्राप्त भएपछि न्यू जलपाइगढ़ी थाना पुलिस घटनास्थल पुग्यो अनि जाँच आरम्भ गरेको थियो।

सीसीटीभी फूटेजको जाँचपछि पुलिसले आरोपीहरूको खोजी तीव्र बनायो। 3 मई देवाशीष बर्मन र रितेश सिंहलाई पक्राउ गरी तीन दिनको रिमाण्डमा लिएर सोधपुछ गरियो। सोधपुछपछि घटनामा संलग्न फूलबारी शासन बस्ती निवासी रिजु सिंहलाई पनि पक्राउ गरिएको छ अनि तिनीबाट लुटपाटमा प्रयोग गरिएको मोटर साइकल फेला पारिएको छ। त्यसपछि छिनताई गरिएको झोला पनि उद्धार गरिएको छ जसमा केही रुपियाँ अनि केही कागजात फेला परेका छन्। पक्राउ गरिएका आरोपीहरूलाई मङ्गलवार जलपाइगढ़ी न्यायालयमा प्रस्तुत गरिएको छ।

By Piyali Poddar