लगभग चार दिनदेखि बेपत्ता छन् फूलबारीका एकजना युवक। बेपत्ता युवक आकाश दास सिपाई पाड़ा, जोरपोखरीका वासिन्दा हुन्। यसबारे शुक्रवार न्यू जलपाइगढ़ी थानाअघि बेपत्ता युवकका परिवारजन र स्थानीय वासिन्दाहरूले विक्षोभ प्रदर्शन गरे। आज दिउँसो 12 बजीतिर युवकका परिवार सदस्यहरू थानामा पुगे। केही तृणमूल कङ्ग्रेसका नेताहरूको भनाइमा पुलिसले दोषीहरूलाई छोड़िदिएको युवकका पिताले आरोप लगाए। तिनले भने, पुलिसले कुनै कदम चालिरहेको छैन। पछि युवकका केही साथीहरूको नाममा पुलिसमा प्राथमिकी दर्ता गरिएको छ। यद्यपि पुलिसले उक्त आरोप अस्वीकार गरेको छ। पुलिसका एकजना अधिकारीले भने, बेपत्ता युवकबारे एउटा डायरी दर्ता गरिएको छ। तीनजनालाई पक्राउ गरी हिरासतमा राखिएको छ। घटनाको जाँच भइरहेको छ। आज थानाअघि युवकका परिवार सदस्य रोएर भावविह्वल बने। जलपाइगढ़ी थानाका आईसी सोनम लामासहित अन्य अधिकारीहरूले स्थिति सम्हाले।
गत 31 दिसम्बर जोड़ापानी नदीको छेउमा रहेको ढाकाईया बस्तीमा झगड़ा भएको थियो। त्यहाँ दुई पक्षबीच मारपिट भएको थियो। मारपिटको क्रममा उक्त युवकका साथीहरू अर्को पक्षबाट बाँच्न भागे। खुट्टामा चोट लागेको हुँदा उक्त युवक भने भाग्न नसकेको तिनका साथीहरूलाई केरकार गर्दा पुलिसलाई थाहा पायो। त्यसपछि उक्त युवक बेपत्ता छन्। बेपत्ता उक्त युवकलाई खोज्नका लागि आज थानामा प्रदर्शन गरिएको थियो। अर्कातिर हिजो दिनभरि फूलबारीको जोड़ापानी नदीमा उक्त युवकको खोजी गरियो। खोजीका लागि विपद व्यवस्थापन विभागका कर्मचारी र गोताखोरहरूलाई ल्याइएको थियो। यद्यपि हिजो साँझसम्म खोजी गर्दा पनि तिनको कुनै सुराग फेला परेन।