राज्यको कुनै पनि सरकारी सम्पत्ति बिक्री नगरिएको मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले दावी गरेका छन्। बुधवार राजधानीको देउरालीस्थित एउटा खेल पूर्वाधारको उद्घाटनपछि पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिँदै मुख्यमन्त्री गोलेले भने, राज्यको सरकारी सम्पत्तिहरू वर्तमान सरकारले बिक्री गरेको विपक्षी पार्टीहरूले जुन आरोप लगाइरहेका छन् यो सरासर गलत हो, हामीले कुनै पनि सरकारी सम्पत्ति बिक्री गरेका छैनौं । विपक्षीको आरोपको खण्डन गर्दै तिनले भने, पुरानो वेस्ट पोइण्ट स्कूल र साउथ वेस्ट ट्याक्सी स्ट्याण्डको जमीनमा पीपीई मोडमा एउटा राम्रो अनि बहुद्देश्य पूर्वाधार निर्माण भइरहेको छ, उक्त स्थानमा निजी कम्पनीले उक्त पूर्वाधार निर्माण गरेपछि चार तला ट्याक्सी स्ट्याण्डको निम्ति सरकारलाई दिने र यसको सुविधा चालकहरूले लिनसक्नेछन् । तिनले जनाएअनुसार उक्त पूर्वाधार मोठ तीन सय करोड़ रुपियाँको लागतमा निर्माण भइरहेको छ।
यसरी नै जलविद्युत परियोजना टिस्टा ऊर्जाको शेयर राज्य सरकारले बिक्री गर्यो भन्ने आरोपको स्पष्टीकरण दिँदै मुख्यमन्त्रीले भने, टिस्टा ऊर्जा परियोजानमा रहेको राज्य सरकारको ६०.०८ प्रतिशत शेयर बिक्री गरिएको छैन। प्राइवेट पार्टीसँग भएको शेयर तिनीहरूको इच्छा हो, तिनीहरूले बिक्री गर्न सक्छन् तर राज्य सरकारको शेयर भने बिक्री गर्ने प्रश्नै आउँदैन, हामीले सरकारको शेयरलाई सुरक्षित राखेका छौं, तिनले भने । उल्लेखनीय छ, केही दिन अघि विपक्षी एसडीएफ पार्टीका अध्यक्ष तथा राज्यका पूर्व मुख्यमन्त्री पवन चामलिङले सिक्किम राज्य ब्यांक (एसबीएस) मा वित्तीय अनियमितताको आरोप लगाएका थिए । यस सन्दर्भमा बोल्दै मुख्यमन्त्री गोलेले वर्तमान सरकारले गैरकानूनी रूपमा कसैलाई एसबीएस बाट लोन नदिएको ठोकुवा गरे ।
एकजना विशेष व्यक्तिलाई ७० करोड़ रुपियाँ लोन दिएको आरोपबारे तिनले भने, सरकारले त्यो लोन कसलाई दिएको छ? पूर्व मुख्यन्त्री पवन चामलिङले प्रमाणित गर्नुपर्नेछ नत्र निराधार आरोप लगाउन पाइनेछैन । उल्टा पूर्व सरकारले नियमलाई उल्लंघन गर्दै धेरैजनालाई लोन दिएको जुन लोनलाई फिर्ता लिने काम अहिलेको सरकारले गरिरहेको मुख्यमन्त्री गोलेले बताए । यस सन्दर्भमा तिनले भने, पहिले जतिजनाले लोन लिएका छन्, तिनीहरूलाई सेटलमेण्ट गर्न राज्य सरकारले अवसर दिनेछ, त्यसो गर्दा पनि लोन फर्काएनन् भने आउँदो विधानसभामा कड़ा कानून पारित गरेर लोन फिर्ता लिइनेछ ।
यसअघि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री पीएस गोलेले आउँदो २० नोभेम्बर देशका गृह तथा सहकारी मन्त्री अमित शाह सिक्किम आउने जानकारी दिए । यस सन्दर्भमा बोल्दै तिनले सहकारिताको एउटा कार्यक्रममा सहभागिता जनाउन देशका गृहमन्त्री आउँदो २० नोभेम्बरको दिन सिक्किम आउँदैछन् भने। तिनी सिक्किम कतिदिन बस्नेहुन् त्यो अहिले निधो भएको छैन तर त्यसै अवसरमा कञ्चनजंघा राज्य विश्वविद्यालय, सिक्किमको शिलान्यास कार्यक्रम भने राखिनेछ । उल्लेखनीय छ, उक्त शिलान्यासको कार्यक्रम देशका उपराष्ट्रपति वेंकैया नायडुले गर्ने तय भएको थियो तर उपराष्ट्रपतिको सिक्किम भ्रमण रद्द भएकोले अब गृहमन्त्रीले त्यसको शिलान्यास गर्ने भएका छन्।