हटेन पानीघट्टाबाट मैलाको थुप्रो

कहिले सफा हुने पानीघट्टा बजारनजिक मैलाको थुप्रो। पानीघट्टा बजार गोलाई छेउमा रहेको सार्वजनिक शौचालयको मुनि वर्षौदेखि मैला थुप्रिएको छ। यस स्थानमा धेरै मैला थुप्रिएकाले घाम लागेको समय दुर्गन्ध फैलिने गर्दछ। विशेष गरेर मैलाको थुप्रो छेउबाट नै पानीघट्टा फरेष्ट र जेएफएमसीले निर्माण गरेको बालासन खोला छेउमा रहेको पिकनिक स्पट जाने बाटो छ। उक्त बाटो भएर धेरै मानिसहरू टाढ़ा टाढ़ाबाट पिकनिक स्पट जाने गर्दछन्। यद्यपि कसैले पनि मैलाको थुप्रोमाथि ध्यान लगाएको छैन। धेरै मैला थुप्रिएको कारण शौचालय जान पनि मानिसहरू हिचकिचाउँछन्। अहिले प्रत्येक गाउँ बस्ती बजारमा ग्राम पञ्चायत सदस्यहरू छन् साथै पञ्चायत प्रधानहरू पनि छन्। धेरै पञ्चायत सदस्यहरूले आफ्नो क्षेत्रमा सरसफाई अभियान गरेका देखिन्छ। तर यहाँ भने वर्षौँदेखि थुप्रिएको मैलालाई हटाउने कार्य नहुँदा स्थानीय मानिसहरूबाट गुनासो उठ्न थालेको छ।

By Piyali Poddar