रेस्लर ‘द ग्रेट खली’ भाजपा प्रवेश

‘द ग्रेट खली’को नामबाट चिनिने रेस्लर दलीप सिंह राना भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरेका छन्।

पन्जाबमा विधानसभाको चुनाव नजिकिँदै गर्दा बिहीबार खलीले भाजपा प्रवेश गरेको बीबीसी हिन्दीले जनाएको छ। नयाँ दिल्लीस्थित भाजपाको हेडक्वाटरमा भएको एक कार्यक्रमबीच उनले पार्टी प्रवेश गरेका हुन्। पन्जाबमा फेब्रुअरी २० तारिखमा चुनाव हुँदैछ। मार्च १० तारिखमा मतगणना हुन लागेको हो। 

उनले भाजपाको राष्ट्रिय नीतिबाट प्रभावित भएर पार्टी प्रवेश गरेको बताएका छन्।  ‘भाजपामा प्रवेश गरेर म खुसी छु। प्रधानमन्त्री नरेन्द्र मोदीले यो देशको लागि गरेको कामले उहाँलाई सही प्रधानमन्त्री हो भनेर चिनाएको छ। त्यसैले देशको विकास गर्न यो पार्टीमा सामेल भएको हुँ,’ उनले कार्यक्रममा भनेका थिए।  एक दशकसम्म वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्लुडब्लुई) मा रेस्लिङ गरेका उनले अवकास लिइसकेका छन्। अहिले उनले जलंधरमा कुस्ती एकेडेमी खोलेका छन्।  खलीले सन् २००० मा व्यवसायिक रेस्लिङको सुरूआत गरेका थिए। त्यसअघि उनी पन्जाब प्रहरीमा थिए। 

खलीले रियालिटी शो बिग बसमा पनि खेलिसकेका छन्। उनले चार वटा हलिउड र दुई वटा बलिउड सिनेमामा अभिनय गरिसकेका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *