सिक्किममा कोभिड १९ को डेल्टा भेरिएन्ट आएको छैनः डा. भोटिया

कोविड १९ को खतरनाक भेरिएन्ट मध्ये एक मानिएको डेल्टा भेरिएन्ट अहिलेसम्म सिक्किममा नभेटिएको स्वास्थ्य विभागका महा निर्देशक तथा सचिव डा. पेम्पा टी भोटियाको दावी रहेको छ । केही दिन अघि पाकिममा डेल्टा भेरिएन्ट कोविड १९ फेला पन्यो भन्ने हल्लाको खण्डन गर्दै आज पत्रकारहरूसितको कुराकानीमा उनले यो दावी गरेका हुन् । विभागले सामाजिक सञ्जालमा फैलिएको उक्त कथित अफ वाहलाई त्यसै समय खण्डन गरेको पनि उनले जानकारी गराए डा. पेम्पाको भनाइअनुसार स्वास्थ्य विभागले गत २९ अप्रेलको दिन जेनुम सिक्वेन्सिङको निम्ति पठाएको ४९ वटा सेम्पलमा युके र डबल म्यूटेन भेरिएन्ट भेटिए पनि डेल्टा भेरिएन्ट भने भेटिएको छैन । यसरी नै २३ जूनको दिन पनि ९८ वटा सेम्पल जेनुम सिक्वेन्सिङको निम्ति पठाएको जसको रिपोर्ट आजसम्म नआएको उनले बताए।

डेल्टा भेरिएन्टलाई खतरनाक अवश्य मानिएको तर व्यवहारिकतामा राज्यवासीले भेरिएन्टको बारेमा अधिक सुर्ता गर्नुभन्दा पनि कोविड प्रोटोकल पालन गर्ने दिशामा गम्भीर हुनपर्ने डा. पेम्पा टी भोटियाको भनाइ रहेको छ । प्रोटोकल पालन गर्दामात्र पनि कोविडलाई धेरै हदसम्म रोकथाम गर्न सकिने उनले बताए । तर, हाल राज्यमा मानिसहरू कोविड प्रोटोकललाई पालन गर्न त होइन औषधी पनि आफै किनेर खाने तथा चिनाजानालाई सोधेर लिने गरेकोले समस्या जटिल बन्दै गइरहेको डा. पेम्पाले बताए ।

केही दिन अघि विपक्षी सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीका प्रवक्ता एमके सुब्बाले सरकारमाथि लगाएका विभिन्न आरोप बारे बोल्दै सरकारको रचनात्मक आलोचना गरेर सही बाटो देखाउनु विपक्षी पार्टीहरूको धर्म रहेको डा. पेम्पा टी भोटियाले बताए । तर, यदि कुनै काम राम्रो भएको छ भने त्यसको सराहना पनि गर्नुपर्ने उनले थप बताए । विशेष गरेर पूर्वाधान निर्माणको कार्य रातारात सम्भव छैन भन्दै सरकारले यदि पहल नै गरेको छैन भने आलोचना गर्न मिल्ने तर शुरु गरिएका कामहरू पूरा हुन केही समय लाग्ने उनले बताए । यसै सम्बन्धमा बोल्दै उनले नाम्ची र गेजिङमा चाँडै आरटीपीसीआर टेस्टको सुविधा स्थापना गर्न सरकारले तयारी गरिरहेको पनि उनले जानकारी गराए । यसको निम्ति सरकार र विभागले टाटा म “डिकल एण्ड डाइगोनेस्टिक-सित कुराकानी गरिरहेको उनले बताए। यसको साथै राज्य सरकारले भारत सरकार समक्ष मोबाइल आरटीपीसीआर ल्याब (आइ ल्याब) को माग गरेको जसलाई लिएर भारत सरकार सकरात्मक रहेको पनि उनले थप बताए । जहाँसम्म राज्यमा उच्च सङ्क्रमण दरको कुरा छ, जुन दिन जाँच कम्ति हुन्छ त्यो दिन स्वतः सङ्क्रमण दर उच्च हुने र जाँच अधिक भएको दिन सङ्क्रमण दर घट्ने गरेको उनले बताए ।

अर्कोतिर भ्याक्सिनेशनमा भने राज्य सरकारले उल्लेखनीय कार्य गरिरहेको डा. पेम्पाको भनाइ रहेको छ । उनले बताएअनुसार अहिलेसम्म करिब ८२ प्रतिशत जनसङ्ख्याले कोविड १९ को पहिलो खुराक लगाइसकेको छ । यसरी नै दोस्रो खुराक लगाउनेहरूको सङ्ख्या करिब २० प्रतिशत रहेको उनले बताए । यसको साथै आजदेखि आगामी ३१ जूलाईसम्म १ लाख भ्याक्सिन राज्यमा आउने पनि उनले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *