तेभागा एक्सप्रेस दुर्घटनाग्रस्त

सोमवार बालुरघाटबाट कोलकाता गइरहेको समय तेभागा एक्सप्रेस दुर्घटनामा परेको छ। सोमवार बिहान तेभागा एक्सप्रेस रामपुर स्टेशननजिक पुग्दा माथिबाट बिजुलीको तार चुँड़िएर खस्यो। त्यसकारण ट्रेन त्यहाँ रोकिनु पुऱ्यो। तर यात्रीहरू ठूलो दुर्घटनाबाट जोगिएका छन्। न त ट्रेनलाई कुनै क्षति पुगेको छ न त यात्रीहरूलाई। त्यसपछि रेल लाइनको मरम्मती कार्य आरम्भ भयो।

सोमवार बिहान 5.45 बजी बालुरघाटबाट छुटेको तेभागा एक्सप्रेस बिहान 6.10 मा मल्लिकपुर स्टेशन पार गरेर रामपुर स्टेशनको ठीक अघि आइपुग्दा यो दुर्घटना भएको हो। अचानक बिजुलीको तार चुँड़िएर खसेपछि ट्रेन लामो समयसम्म रोकियो। खबर पाएर रेलवे बिजुली विभागका कर्मचारीहरू घटनास्थलमा पुगे।

मरम्मती कार्य आरम्भ गरेपछि मालदाबाट एउटा इञ्जिन मगाइयो। यस सम्पूर्ण प्रक्रियामा लगभग तीन घण्टा लाग्यो। त्यसपछि ट्रेन फेरि कोलकातातर्फ प्रस्थान गऱ्यो। लामो समयसम्म ट्रेन रोकिएपछि यात्रीहरूले असुविधा भोग्नु परेको विषयलाई रेलवेले स्वीकार गरेको छ। दुर्घटनाको कारणबारे रेल प्रशासनले जाँच गरिरहेको छ।

By Piyali Poddar