अस्ट्रेलियामा ‘नेजल स्प्रे’ को परीक्षण सुरु

अस्ट्रेलियाका वैज्ञानिकहरुले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनका लागि नाकमा लगाइने स्प्रेको परीक्षण सुरु गरेका छन् । अस्ट्रेलियामा दैनिक हजारौं नयाँ संक्रमण देखिइरहेको सन्दर्भमा यदि यो परीक्षण सफल भए भ्याक्सिनको साथमा भाइरस संक्रमणका लागि प्रयोगमा ल्याइने छ । यसको परीक्षणमा अस्ट्रेलियामा रहेको मेलबर्न युनिभसिटी, मोनास युनिभर्सिटी लगायतका विश्वविद्यालयका साथै अन्य अनुसन्धान संस्थाका अनुसन्धानकर्ता सम्मिलित छन् ।

समाचारसंस्था एबिसीका अनुसार यो औषधि यहाँ रहेको ३ सय ४० घरमा परीक्षण गरिनेछ । यो परीक्षण सफल भएमा हालै देखिएको ओमिक्रोन भेरिएन्ट नियन्त्रणका लागि समेत उपयोगी हुन सक्ने बताइएको छ । यो स्प्रेलाई राख्नका लागि कुनै फ्रिज वा निश्चित तापक्रम नचाहिने भएकाले आवश्यकता अनुसार वितरण गर्न सकिनेछ । यस कार्यक्रमका लागि भिक्टोरिया राज्य सरकारले पहिलो परीक्षणका लागि करिब ५ मिलियन डलर बराबरको सहयोग उपलब्ध गराएको छ ।

परीक्षणका क्रममा रहेको नाकमा लगाइने यस स्प्रेमा रगत पातलो बनाउनका लागि प्रयोग हुने औषधि ‘हेपारिन’ को प्रयोग गरिएको बीबीसीले उल्लेख गरेको छ । परीक्षणका क्रममा यसले कोरोना भाइरस संक्रमितलाई धेरै हदसम्म संक्रमणमुक्त बनाउन सहयोग गर्ने बताइएको छ । सन २०२२ को मध्यसम्ममा यसको परीक्षण सफल हुने समेत समाचारमा जनाइएको छ ।

भिक्टोरियाका मेडिकल रिसर्चमन्त्री जाला पुलफोर्डले यस नेजल स्प्रेको उत्पादन स्थानीयस्तरमा उत्पादन गर्न सकिने विश्वास व्यक्त गरेकी छिन् । ‘यो कार्यले भिक्टोरियनका लागि मात्र नभएर विश्वभरि रहेका नागरिकलाई फाइदा हुनेछ ।’ उनले एबिसीलाई भनेकी छिन् । यद्यपि यसको सफलता र बजारमा आउने प्रयोगका लागि भने अझै कम्तिमा ६ महिना कुर्नुपर्ने छ ।

अस्ट्रेलियामा रहेका १२ वर्षभन्दा माथिका करिब ९२ प्रतिशत नागरिकले कोरोना भाइरविरुद्धको पूर्ण खोप लगाइसकेको भएपनि अहिले भाइरस संक्रमण दर अत्यधिक बढेको छ । ६ राज्य तथा २ टेरिटोरीमा अहिले दैनिक ९ हजारको हाराहारीमा नयाँ संक्रमण देखिइरहेको छ । यद्यपि अस्पतालमा भर्ना हुने संक्रमितको संख्या भने कम रहेको छ । प्रायजसो सबै राज्यमा रहेका ८० प्रतिशतभन्दा बढी योग्य नागरिकले खोप लगाइसकेका कारण अस्ट्रेलियाले केही समय पहिले लकडाउनलाई हटाइसकेको छ भने जनजीवनलाई सामान्य पार्ने कोसिस गरिरहेको छ ।

स्वास्थ्य विभागको तथ्यांकअनुसार विगत २४ घण्टामा न्यु साउथ वेल्समा ६ हजार ६२, भिक्टोरिया २ हजार ७ सय , क्विन्सल्यान्ड १ हजार १ सय, दक्षिण अस्ट्रेलिया ९ हजार ९५ र राजधानीस्थित क्यापिटल टेरिटोरीमा २ सय ५२ नयाँ संक्रमित थपिएका छन् । संक्रमितको संख्या बढेसँगै पीसीआर परीक्षण गर्नका लागि सेवा दिन राज्य सरकारले पर्याप्त जनशक्ति परिचालन नगरेको भन्दै आलोचना समेत भइरहेको छ । परीक्षणका लागि स्थानीयहरु ८ घण्टासम्म लाइनमा लाग्नुपर्ने बाध्यता छ ।

अस्ट्रेलियाले पूर्ण खोप लगाइसकेका नागरिकलाई बुस्टर खोप लगाउने समय समेत ६ महिनाबाट घटाएर ४ महिनामा घटाइसकेको छ । त्यसैगरि स्वास्थ्यसेवा पुर्‍याइरहेका स्वास्थ्यकर्मीसमेत उल्लेख्य रुपमा पोजेटिभ देखिएपछि अस्पतालमा काम गर्ने कर्मचारीको समेत अभाव देखिएको स्थानीय समाचारमा जनाइएको छ ।

केन्द्र सरकारका साथै स्थानीय राज्य सरकारले समेत वर्तमान अवस्थामा देखिएको समस्या समाधानका लागि प्रयास गरिरहेको बताएपनि दैनिक बढिरहेको संक्रमणले समस्या सिर्जना गरिरहेको छ । संक्रमण दैनिक रुपमा बढिरहेपछि विभिन्न स्थानीय सरकारले संक्रमण नियन्त्रणका लागि घरभित्र जम्मा हुन पाउने संख्या लगायतका नियममा पुन: फेरबदल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *