मनीषा कोइराला: छोरीको कामबाट गौरवान्वित आमा सुषमा कोइरालाको मुखबाट मनीषाको कथा

कुनै बेलाकी चर्चित बलिवूड अभिनेत्री मनीषा कोइरालाले आफ्नो ५१ औँ जन्मदिन मनाएको धेरै भएको छैन। उनको व्यक्तिगत र व्यावसायिक जीवनका आरोह अवरोहलाई नजिकबाट नियालेकी उनकी आमा सुषमा कोइरालाले छोरी जन्माउँदाको समय सम्झिँदै भन्छिन्, “मेरा बुवाले धिक्कार भनेजस्तो भाव देखाउनुभयो। म बुवासँग त्यसपछि ३/४ महिना बोलिनँ।”

उनका बुवामात्रै नभइ ससुरा बुवा कांग्रेस नेता बीपी कोइरालाले पनि विदेशमा रहेका बेला के जन्मियो भन्ने जिज्ञासामा एउटा पोष्टकार्डसहित पत्र लेखेको सम्झना उनको मनमा ताजा छ। “नानु, यति बेलासम्म त तिम्रो यस्तो छोरा जन्मिसक्यो होला?”

उनलाई लाग्छ छोरा र छोरीबारे त्यति बेलाको मानसिकता त्यस्तै थियो। सबैले छोरी होइन, छोरा नै हुनुपर्छ भन्थे। तर भर्खरै जन्मिएकी छोरीलाई अस्पतालको वार्डमा काखमा लिएपछि उनले दृढ अठोट गरिन् – ‘दुनियाँलाई देखाउँछु। तँलाई म स्वीट्जरल्याण्ड पढ्न पठाउँछु।’ बलिवूड चलचित्र दंगलमा आमिर खानको चर्चित संवाद ‘हमारी छोरी छोरो से कम हे के?’ जस्तै गरी उनी प्रतिप्रश्न गर्छिन्, “मेरो छोरी छोराभन्दा कम छे र?”

छोराभन्दा कम छैन छोरी भनेर त्यति बेला सुषमाले मनीषालाई विदेशमा पढाउने र त्यो पनि डाक्टर बनाउने इच्छा राखेकी थिइन्। उनका अनुसार मनीषा भर्खरै १२ कक्षा उत्तीर्ण गरेर बसेकी थिइन्।

किशोरावस्थामा रहेकी मनीषाले जन्मदिन नजिकिँदै गर्दा एकदिन भनिन्, “आमा म जन्मदिनको लागि एउटा उपहार माग्छु। दिने हो?”

छोरीले के उपहार माग्न लागेको अत्तोपत्तो नभएकी  सुषमाले हत्तपत्त भनिन्- ‘दिन्छु।’

मनीषाले जिद्दी कसेर आमालाई बचनबद्ध गराइन् – ‘साँच्चै दिन्छौ? त्यसो भए मलाई बम्बई लग।’

काठमाण्डूमा आफ्नो पहिलो नेपाली चलचित्रमा अभिनय गरिसकेकी मनीषा आफ्नो उडान बलिवूडमा भर्न चाहन्थिन्।

बचनमा हारिसकेकी सुषमाले छोरी मनीषालाई त्यति बेलाकी चर्चित चलचित्र समीक्षक मिना ऐयरलाई चिनाइन्। छोरी अभिनयमा लाग्नुअघि नै बलीवूडमा सुषमाको थुप्रैसँग राम्रो चिनजान थियो।

तर मनीषालाई मिनासँग भेटाउनुअघि सुषमाले उनलाई छुट्टै राखेर भनेकी थिइन्, “मनीषाले मलाई फिल्म खेल्छु भनेर हैरान गरिसकी। यसलाई बम्बईको यस्तो तस्बिर देखाइदेउ ता कि यसले खेल्दिनँ भनोस्।”

साथीभाइबीचको एउटा जमघटका बेला सुषमाले मनीषा र मिनालाई भेट गराइन्। उनीहरूले लगभग डेढ घण्टा कुराकानी गरे। उनीहरूलाई टाढाबाट हेरिरहेकी सुषमा भित्रभित्रै मक्ख थिइन्, हिरोइन बन्ने जिद्दी गरेकी छोरीलाई अब डाक्टर बनाउनुपर्छ।

तर केही बेरपछि मक्ख पर्दै आएकी मनीषाले भनिन् -“आमा मलाई त मिना दिदीले तिमी त ‘स्टार मटेरियल’ हौ भन्नुभयो।”

सुषमाले मिनालाई केही नभनी हेरिन् – “हो उनी ‘स्टार मटेरियल’ हुन्। सुभाष घाईले आफ्नो चलचित्रका लागि नयाँ अनुहारको खोजी गरिरहेका छन्।”

त्यो रात मनीषा दङ्ग थिइन्। आमालाई अँगालो मारेर सुतिन्।

तर सुषमा अझै पनि मनीषालाई रोक्न चाहन्थिन्। उनले अन्तिम अस्त्रको रूपमा सासू बीपी पत्नी सुशीला कोइरालालाई सोध्न भनिन्।

जब हजुरआमा सुशीला कोइरालाले थाहा पाइन्। उनले मनीषालाई भनिन्- “तँलाई अभिनय गर्न मन छ। जा…गर्… एकदम गर्।”

सुषमालाई त्यतिबेला कस्तो आमा होला भन्ने लाग्यो। तर सुषमाले यो भन्न छुटाइनन्- ‘मनीषा बीपी बाबा र सुशिला आमाकी असाध्यै प्यारी थिइ।

उनका अनुसार कोइराला परिवारमा छोरीको सङ्ख्या कम भएका कारण पनि धेरै प्यारो गरिन्थ्यो।

मनिषाले आफ्ना थुप्रै अन्तर्वार्ताहरूमा भनेकी पनि छन्- “सुशिला आमालाई मैले पहिला नै मनाइसकेकी थिएँ र उहाँले गर भन्नुभएको थियो। कतै न कतै वहाँलाई पनि उमेरमा हुँदा अभिनेत्री बन्ने मन थियो कि जस्तो लाग्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *