प्रत्येक बिहान स्कूटरमा सवार भएर यतादेखि उता घुमिरहेका छन् सुशान्त। कुनै घरबाट जिमीको जस्तै कुकुरको आवाज आए सिधै त्यहाँ पुग्छन् अनि जुन कुकुरको आवाज सुनियो कृपया त्यसलाई एकपल्ट देखाइदिनुहुन्छ भनेर घर मालिकलाई अनुरोध गर्छन्। तर किन सुशान्त त्यसरी हिँड़िरहेका छन्? के छ त्यस्तो माया? जिमी वास्तवमा सुशान्तको प्रिय कुकुर हो। अहिले त्यो कुकुर हराएको छ। त्यसैको खोजीमा दिनभरि सिलगढ़ीका गल्लीहरूमा भौँतारिरहेका छन् सुशान्त। प्यारो जिमी भेटिएला भनेर तिनले शहरका मुख्य ठाउँहरूमा सयभन्दा अधिक पोस्टर टाँसिसकेका छन्। पोस्टरमा जिमीको फोटो पनि छ। त्यहाँ सुशान्तको भावनात्मक अपिल लेखिएको छ – “गत 26 फरवरी राति लगभग 8 बजीतिर कसैले यस कुकुरलाई घर अगाड़िबाट चोरेर लगेको छ। जो कसैले यसको खबर दिन्छ तिनलाई उचित इनाम दिइनेछ।”
सुशान्त र जिमीको सम्बन्ध चार वर्षअघि आरम्भ भएको थियो। सुभाषपल्लीको मिलन मन्दिर रोडनजिक अपार्टमेण्टदेखि केही टाढ़ा जाड़ो रातमा छिमेकीले बोलाउदा सुशान्तले लगभग चार महीनाको त्यो सानो कुकुर देखेका थिए। जेष्ठ नागरिक सुशान्त त्यहाँ पुग्दा ठूल्ठूला कुकुरहरूले लखेट्दा त्यो सानो कुकुर झाँड़ीमा लुकेको थियो। त्यहाँबाट आरम्भ भयो तिनीहरूको आत्मीय सम्बन्ध। सुशान्तले त्यसलाई मायाले काखमा राखे र नाम दिए जिमी। त्यसपछि चार वर्ष बित्यो। सुशान्तका दुई छोरीहरूको बिहे भइसकेपछि तिनी आफ्नी श्रीमतीसँग अवकाशप्राप्त जीवन बिताइरहेका छन्।
त्यसकारण जिमीले तिनको जीवनमा सन्तान जस्तै स्थान पाएको थियो। साँझ स्कूटरमा घुमाउँदा, बिहान-बेलुका बिस्कुट, भात, मासु खुवाउने क्रममा तिनीहरूको सम्बन्ध अझ गहिरो बन्दै गयो। तर अचानक त्यो साँझ जिमी बेपत्ता भएपछि 70 वर्षीय अवकाशप्राप्त वृद्ध सुशान्त आफूलाई एकलो अनुभव गरिरहेका छन्। भावुक हुँदै सुशान्त भन्छन्, “जिमी साँझमा अपार्टमेण्ट अगाड़ि खेलिरहेको थियो। म भित्र गएको थिएँ। राति नौ बजीसम्म त्यो नआएपछि बाहिर हेर्न गएँ। तर जिमी त्यहाँ थिएन।” के जिमी आफै कतै हरायो? सुशान्त त्यसलाई अस्वीकार गर्छन्। तिनी निराश भएर भन्छन्, “त्यो अपार्टमेण्ट बाहिर धेरै टाढ़ा जाँदैनथ्यो। जसले त्यसलाई मायाले बोलाउँथ्यो तिनीसित घुलमिल भइहाल्थ्यो। पक्कै कसैले चोरी गरेर लगेको छ।”केही समयअघि बङ्गलादेश र भारतका मानिसहरू सन्तु नामक कुकुरको कारण भावुक बनेका थिए। सामाजिक सञ्जालमा सन्तुको फोटो भाइरल भएको थियो। अहिले सिलगढ़ीका गल्लीहरूमा जिमीको फोटो टाँसिएको देखिन्छ। “जो कसैले मेरो जिमीलाई भेट्छन् कृपया मलाई फिर्ता दिनुहोस्। मेरो सबैलाई यही अनुरोध छ। इनाम पनि राखेको छु,” सुशान्तको अन्तिम अपिल छ।