कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई नगद राहत दिन भारतको सर्वोच्च अदालतको आदेश

भारतको सर्वाेच्च अदालतले बुधवार एक महत्त्वपूर्ण फैसला सुनाउँदै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई नगद राहत दिन केन्द्र सरकारलाई निर्देशन दिएको छ । यद्यपि क्षतिपूर्तिको रकम कति दिने भनेर सरकार आफैँले तय गर्नुपर्नेछ । 

न्यायाधीश अशोक भूषणसहितको तीन सदस्यीय इजलासले राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) लाई आउँदो ६ हप्तासम्म राहत रकमको टुङ्गो लगाउन आदेश दिएको हो । 

वकिल गौरव बंसल र रीपक कंसलको रिटमाथि सुनुवाइपछि सर्वाेच्च अदालतले यो आदेश दिएको हो । यी दुई वकिलले कोभिड–१९ बाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई चार लाख भारतीय रुपैयाँ दिनका लागि केन्द्र सरकारलाई निर्देशन दिन माग गर्दै रिट दायर गरेका थिए ।  यसअघि मोदी सरकारले एक पत्र दायर गर्दै आर्थिक अवस्था कमजोर र अन्य कारणबाट कोभिड–१९ बाट ज्यान गुमाउने व्यक्तिका परिवारलाई चार लाख रुपैयाँको सहायता दिन नसक्ने बताएको थियो । पत्रमा सरकारले कोभिड महामारीविरुद्ध लड्नका लागि र पीडित परिवारका लागि कैयौँ किसिमका लाभकारी योजना लागू गरिएको पनि उल्लेख गरिएको छ । यो पत्र सहायता रकमको सम्बन्धमा पीडित परिवारका तर्फबाट दायर गरिएको रिटको जवाफमा दायर गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *