बीडीओ प्रशान्त बर्मनलाई आत्मसमर्पण गर्ने सर्वोच्च न्यायालयको निर्देशन

अब व्यवसायी हत्याकाण्डमा आरोपी बीडीओ प्रशान्त बर्मनले अनिवार्य रूपमा आत्मसमर्पण गर्नुपर्ने भएको छ। जलपाइगढ़ीको राजगञ्जका बीडीओ प्रशान्त बर्मनले शुक्रवार 23 जनवरीभित्र आत्मसमर्पण गर्नुपर्ने आदेश सोमवार सर्वोच्च न्यायालयले दिएको हो। अग्रिम जमानतको माग गर्दै प्रशान्त सर्वोच्च न्यायालय पुगेका थिए। तर त्यसबाट खासै लाभ भएन। सर्वोच्च न्यायालयका न्यायाधीश राजेश बिन्दल र न्यायाधीश विजय विष्णोईको डिभिजन बेञ्चले स्पष्ट रूपमा प्रशान्त बर्मनले अब आत्मसमर्पण गर्नैपर्ने निर्णय सुनाएको हो। बर्मनका वकिलले आत्मसमर्पणका लागि 26 जनवरीसम्म समय माग गरेका थिए तर त्यो निवेदन खारेज गरियो। यद्यपि आत्मसमर्पणपछि तिनले जमानतको निवेदन दिन सक्नेछन्। जाँचकर्ताले रिमाण्ड मागे त्यो निवेदन पनि स्वीकार हुन सक्ने बताइएको छ।
उत्तर 24 परगनाको दत्ताबाद निवासी सुनचाँदी व्यवसायी स्वपन कामिल्याको अपहरण तथा हत्याकाण्डमा प्रमुख आरोपीमध्ये एक राजगञ्जका बीडीओ प्रशान्त बर्मनको अग्रिम जमानत निवेदन कलकत्ता उच्च न्यायालयले खारेज गरिसकेको थियो। कलकत्ता उच्च न्यायालयका न्यायाधीश तीर्थङ्कर घोषले तिनलाई 72 घण्टाभित्र राज्य पुलिससमक्ष आत्मसमर्पण गर्न आदेश दिएका थिए। उक्त आदेशलाई चुनौती दिँदै प्रशान्त सर्वोच्च न्यायालय पुगेका थिए। तिनको पक्षबाट सर्वोच्च न्यायालयमा वरिष्ठ अधिवक्ता मुकुल रोहतगीले बहस गरेका थिए। बहसका क्रममा रोहतगीले भने, कलकत्ता उच्च न्यायालयमा रोस्टरअनुसार प्रशान्त बर्मनको निवेदनको सुनुवाइ भएको थिएन। तिनका वकिलले न्यायालयमा प्रशान्त निर्दोष रहेको दाबी पनि गरेका थिए।
यसको प्रत्युत्तरमा राज्य सरकारका तर्फबाट सम्पूर्ण घटनासित सम्बन्धित सीसीटीभी फूटेज उपलब्ध रहेको दाबी गरियो जसले आरोपी प्रशान्त बर्मनलाई हिरासतमा लिएर सोधपुछ गर्नुपर्ने आवश्यकता अझ बलियो बनाएको बताइएको छ। घटनाको सही जाँचका लागि प्रशान्त बर्मनको पक्राउ आवश्यक रहेको राज्य सरकारका वकिलले न्यायालयलाई जानकारी गराएका थिए। उल्लेखनीय छ, कलकत्ता उच्च न्यायालयले अग्रिम जमानत खारेज गरेपछि प्रशान्त बर्मन बेपत्ता छन्। पक्राउ वारेण्ट जारी भए पनि तिनी अहिलेसम्म पक्राउ परेका छैनन्। तर यसपल्ट देशको सर्वोच्च न्यायालयले स्पष्ट रूपमा आत्मसमर्पणको अन्तिम समयसीमा तोकिदिएको छ।

By Piyali Poddar