हालै राज्यमा एसआईआरको एनुमरेशन फारम वितरण सम्पन्न भयो। प्रारम्भिक मतदाता सूची पनि सार्वजनिक भइसकेको छ। आयोगको तर्फबाट क्रमशः सुनुवाइ प्रक्रिया चलिरहेको छ। यसै सुनुवाइको नोटिश प्राप्त भएपछि डरको कारण विष सेवन गरेर आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। यस्तै दाबी मृत व्यक्तिका परिवार सदस्यहरूले गरेका छन्। शुक्रवार बिहान उत्तर दिनाजपुर जिल्लाको गोयालपखर क्षेत्रअन्तर्गत चुराकुट्टी इलाकामा यस्तो घटना भएको हो। पुलिस सूत्रअनुसार उक्त व्यक्तिको नाम अब्दुल मुत्तालिब हो।
परिवार सूत्रअनुसार अब्दुलले एसआईआरका लागि एनुमरेशन फारम भरेका थिए। तर केही दिनअघि आयोगको तर्फबाट तिनलाई सुनुवाइका लागि नोटिश पठाइएको थियो। त्यसपछि तिनी निरन्तर त्रस्त थिए। तिनले परिवारका सदस्यहरूसित पनि पटक–पटक आफ्नो चिन्ता व्यक्त गरेका थिए। तिनलाई बङ्गलादेश पठाइने हो कि भन्ने डरले तिनी त्रसित थिए। परिवारको दाबी अनुसार त्यसै डरको कारण बुधवार राति तिनले विष सेवन गरेर आत्महत्याको प्रयास गरे। शारीरिक अवस्था बिग्रिएपछि तिनलाई तुरुन्तै किशनगञ्ज मेडिकल कलेज तथा अस्पतालमा भर्ना गरियो। तर अस्पतालमा उपचार भए पनि खासै सुधार आएन। शुक्रवार बिहान अस्पतालमै तिनको मृत्यु भयो। घटनापछि मृत अब्दुलको परिवार शोकमा डुबेको छ।
घटनाको खबर पाएपछि बिहीवार दिउँसो राज्यका मन्त्री गोलाम रब्बानी अस्पताल पुगे। तिनले अब्दुल मुत्तालिबको परिवारसित कुराकानी गरे। यस घटनाका लागि निर्वाचन आयोगका मुख्य अधिकारी ज्ञानेश कुमार, गृहमन्त्री अमित शाह र प्रधानमन्त्री नरेन्द्र मोदी जिम्मावार रहेका आरोप मन्त्रीले लगाए।
एसआईआरको कारण विष सेवन गरी आत्महत्या
