ऋणको जालमा फँसेर युवकद्वारा स्वास्नी र छोराको हत्यापछि आत्महत्या

ओछ्यानमा सात वर्षको छोराको शव लड़िरहेको थियो। नजिकै तिनकी आमाको शव थियो। दुवैको घाँटीमा धारिलो हतियारले प्रहार गरिएको स्पष्ट थियो। ओछ्यानको छेउमा सिलिङमा झुण्डिएको अवस्थामा थियो परिवारका मुखियाको शव। यो घटना बिहीवार सिलिगढ़ीको समरनगर बौबजारमा भएको हो। पुलिसअनुसार मृतकको नाम पिण्टु राय (7), टुम्पा राय (26) र श्यामल राय (27) हो। आर्थिक समस्याको कारण यस्तो मर्मान्तिक घटना भएको जाँचकर्ताहरूले अनुमान लगाएका छन्। सिलगढ़ी कमिश्नरेट पुलिसका डीसीपी (पूर्व) राकेश सिंहले भने, कोठाको ढोका भित्रबाट बन्द थियो। आर्थिक समस्याको कारण स्वास्नी र छोरालाई मारी युवकले आत्महत्या गरेको प्रारम्भिक जाँचले देखाएको छ। घटनामा प्रयोग भएको हतियार कोठाबाट फेला परेको छ। परिवारले आर्थिक सङ्कटको सामना गरिरहेको विषय प्रारम्भिक जाँचमा देखा परेको छ। परिवार समरनगर बौबजारमा भाड़ाको घरमा बस्दै आइरहेको थियो। परिवारका सदस्यअनुसार, टुम्पाले नजिकै घर भाड़ा लिएर फास्ट फूडको पसल चलाउँदै थिइन्। तर भाड़ा तिर्न नसकेपछि तिनले दुई हप्ताअघि उक्त पसल छाड़ेकी थिइन्। श्यामल पेशाले राजमिस्त्री थिए। तिनी दुई दिनदेखि काममा गएका थिएनन्। टुम्पाकी आमा शान्ति रायले भनिन्, तिनीहरूले धेरै ऋण लिएका थिए। तर किन ऋण लिएको भन्ने प्रश्न गर्दा तिनीहरू केही पनि भन्दैनथे।
प्रारम्भिक जाँचको आधारमा बुधवार राति नै श्यामलले स्वास्नी र छोरालाई मारेका पुलिसको अनुमान छ। बिहान 9 बजी पुलिसले उद्धार गर्दा शवहरू कठोर भइसकेका थिए। तर श्यामलको शरीर अझै नरम थियो। जसरी दुईवटा शव ओछ्यानमा राखिएको थियो त्यसले टुम्पालाई भुइँमा मारेपछि शव ओछ्यानमा राखिएको जाँचकर्ताहरूले अनुमान गरे। स्वास्नी र छोरामध्ये पहिले टुम्पालाई मारेको पनि अनुमान गरिएको छ। दिउँसो टुम्पा आफ्नी बहिनी रुम्पासित बाहिर गएकी थिइन्। रुम्पाले भनिन्, एटीएम कार्ड सञ्चालन गर्न दिदीलाई साथमा लिएर गएको थिएँ। रेसिडेन्सियल सर्टिफिकेट लिन दिदी गाउँ पञ्चायत कार्यालय पनि गएकी थिइन्। हामीले बाहिर बिरयानी खाएका थियौँ। त्यसपछि दिदी घर फर्किन्। पिण्टु बुधवार साँझ टुम्पाकी आमाको घरमा थिए। शान्तिले भनिन्, पिण्टु बिहानदेखि हाम्रो घरमै थिए। कहिलेकाहीँ राति हाम्रो घरमै सुत्थे। बुधवार राति श्यामल आएर तिनलाई लगे। पिण्टुलाई रातको खाना खुवाएर श्यामलसित पठाएकी थिएँ। शान्तिले परिवारका लागि मासु र भात पनि पठाएकी थिइन्। परिवार डेढ़ वर्षदेखि उक्त भाड़ाको घरमा बस्दै आइरहेको थियो। श्यामल मूलतः साहुडाङ्गीका वासिन्दा थिए। तिनी राजमिस्त्रीको रूपमा टुम्पाका दाजुसित काम गर्थे। कामको सुविधाका लागि टुम्पाको घरनजिक भाड़ाको घर लिएका थिए। पति–पत्नीबीच कहिलेकाहीँ भनाभैवी भए पनि ठूलो झगड़ा कहिल्यै भएको थिएन, भाड़ाको घरकी मालिकनी पूर्णिमा कर्मकारले बताइन्।
घरमा यति ठूलो घटना भएको कसैले रातभरि थाहा पाएन। तिनले भनिन्, शान्तिले बिहीवार बिहान फोन गरेकी थिइन्। कसैले उत्तर दिएन। त्यसपछि तिनीहरू यहाँ आए। शान्तिले भनिन्, धेरैपल्ट आवाज दिँदा पनि टुम्पाहरूले ढोका खोलेनन्। अन्त्यमा मेरो अर्को नाति सिलिण्डरको माथि चढ़ेर ढोकाको दुलोबाट हेर्दा श्यामल भित्र झुण्डिएको देख्यो। त्यसपछि हामीले पुलिसलाई बोलायौँ। पुलिसले ढोका फोरेर भिडियो खिचेपछि शवहरू पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पताल पठायो। घटनाले क्षेत्रमा व्यापक हलचल मच्चाएको छ।

By Piyali Poddar