प्यालेस्टिनी र इजरायलबीच भएको युद्धविरामको सुडानद्वारा स्वागत

प्यालेस्टिनीको बसोबास रहेको गाजा पट्टीमा ११ दिनदेखि जारी आक्रामक कारबाही रोक्न इजरायल सरकार र गाजाको विद्रोही संगठन हमासबीच बिहीबार भएको युद्धविरामको सुडानले स्वागत गरेको छ । सुडानको विदेशमन्त्रीले एक विज्ञप्ति जारी गरी युद्धविरामको स्वागत गर्नुभएको छ ।
बिदेश मन्त्रीले जारी गरेको बिज्ञप्तीमा अन्तर्राष्ट्रिय समुदाय, विशेषगरी अमेरिकी प्रशासनलाई प्यालेस्टिनी जनताको अधिकारमा जानाजानी उल्लघंन नगर्न र हमला रोक्न आवश्यक उपायहरु अपनाउन आग्रह गरिएको छ ।
अन्तर्राष्ट्रिय समुदायले विनाश भएको क्षेत्रहरुको पुनःस्थापना गर्न मानवीय अवस्थालाई सुधार, सहयोग र क्षतिपूर्तिको व्यवस्थालाई थप गति दिन माग गरिएको छ ।

गाजा पट्टीमा सक्रिय हमास समूहका लडाकू विरुद्ध आक्रामक कारबाही गरेको इजरायलले संयुक्तराज्य अमेरिका समेत अन्तर्राष्ट्रिय समुदायको बारम्बारको अनुरोधलाई स्वीकार्दै युद्धविराम गरेको हो ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणबाट कम्तीमा २३० जनाको मृत्यु भएको छ जसमा ६५ जना बालबालिका र ३९ जना महिला छन् । आक्रमणबाट एक हजार ७१० जनाभन्दा बढी घाइते भएका छन् ।

हमास र इस्लामिक जिहादले आफ्ना कम्तीमा २० जना लडाकू मारिएको जनाएका छन् तर इजरायलले १३० जना हमास लडाकू मारिएको दाबी गरेको छ ।इजरायली आक्रमणको त्रासका कारण झण्डै ५८ हजार प्यालेस्टिनी बिस्थापित भएका छन् । इजरायलतर्फ पाँच वर्षका एक बालक सहित १२ जनाको मृत्यु भएको छ ।

इजरायल र हमासबीचको पछिल्लो युद्ध गत मे १० तारिखदेखि शुरु भएको हो । सन् २०१४ यताको सबैभन्दा डरलाग्दो हमला मानिएको यस पटकको युद्धलाई लिएर विश्वका विभिन्न स्थानमा इजरायल विरुद्ध प्रदर्शन भएका थिए । यद्यपि, पछिल्लो युद्धबिराम चाँडै गरेको भन्दै इजरायली दक्षिणपन्थीहरुले प्रधानमन्त्री नेतन्याहूको आलोचना गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *