स्लोभाकियामा उड्ने कारको ३५ मिनेटको उडान परीक्षण सफल

आवश्यकता अनुसार विमान वा कारको रूप धारण गर्न सक्ने एयरकारमा बीएमडब्ल्यूको इन्जिन र पेट्रोल पम्पको साधारण इन्धनमा चल्छ। यसका निर्माता प्राध्यापक स्टेफन क्लेनका अनुसार एयरकार १,००० किलोमिटरसम्म ८,२०० फिटको उचाइमा उड्न सक्छ। यो अहिलेसम्म परीक्षणका लागि हावामा ४० घण्टा उडिसकेको छ। कारबाट विमान बन्न यसलाई दुई मिनेट १५ सेकेन्ड समय लाग्छ। यसका छोटा पखेटा बन्द भएर कारको दुई तर्फ टाँसिएर रहन सक्छ। आमन्त्रित पत्रकारहरूको अगाडि प्राध्यापक क्लेनले विमानस्थलमा यसलाई अवतरण गरेपछि यसलाई धावनमार्गबाट सिधै सडकमा ल्याएर सहरभित्र लगे।

सोमवार बिहान ८० किलोमिटर दूरीको उडानको अनुभवलाई क्लेनले सामान्य र धेरै रमाइलो भने। हावामा हुँदा यसको गति १७० किलोमिटर प्रतिघण्टा पुगेको थियो। कुल २०० किलोग्राम भार बोक्न सक्ने एयरकारमा दुई जना यात्रा गर्न सक्छन्। तर परीक्षण चरणमै रहेको ड्रोन-ट्याक्सी जस्तो यो सीधा उड्न र बस्न सक्दैन र यसलाई धावनमार्ग चाहिन्छ। चलचित्र र कथाहरूमा थुप्रै देखाइने हवाई कारलाई भविष्यको यातायातका रूपमा चित्रण गरिन्छ।

सन् २०१९ मा मोर्गन स्ट्याने कम्पनीले हवाई कारको बजार सन् २०४० मा १५ खर्ब अमेरिकी डलर बराबरको हुनसक्ने अनुमान गरेको थियो। मङ्गलवार एउटा कार्यक्रमका हुन्डाई मोटर्स युरोपका प्रमुख अधिकृत माइकल कोलले हवाई कारको सोच ‘हाम्रो भविष्यको एउटा अंश’ रहेको बताएका छन्। क्लेन भिजनले दुई वर्ष लगाएर ‘२० लाख युरोभन्दा कम खर्चमा’ एयरकार निर्माण गरेको बताएको छ। क्लेन भिजनका एक सल्लाहकार र लगानीकर्ता एन्टोन राजाकले एयरकारले वायुसेवा वा गाडी बिक्रीको सानो बजार मात्रै पाए पनि धेरै सफल हुने बताए। “अमेरिकामा मात्रै ४० हजार विमानको माग छ,” उनले भने। “हामीले यसको पाँच प्रतिशत मात्रै हवाई कारमा ल्याउन सक्यौँ भने हाम्रो लागि ठूलो बजार हुनेछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *