मङ्गलवार युनियन पब्लिक सर्भिस कमिशन (यूपीएससी) परीक्षाको परिणाम प्रकाशित भयो। दार्जीलिङका दुई छोरी प्रतिभा लामा र जोजिला दोल्कार भूटिया क्रमशः 461 र 765 औँ स्थान प्राप्त गर्न सफल भए। गत वर्ष दार्जीलिङ शहरबाट 25 वर्षीया जयश्री प्रधानले सिविल सेवा परीक्षामा 52 औँ स्थान प्राप्त गरेकी थिइन्। पहाड़बाट सिविल सेवा परीक्षामा सफलताको सूचीमा समावेश हुन पाउँदा प्रतिभा र जोजिला निकै खुशी छन्। यी दुई छोरीको उपलब्धिले पूरै पहाड़मा खुशीको माहोल छ। जोजिला सन् 2018 मा डब्ल्यूबीसीएस परीक्षामा पनि सफल भएकी थिइन्।
तिनी हाल पश्चिम बङ्गाल सरकारको राजस्व विभागमा कार्यरत छन्। डब्ल्यूबीसीएसपछि यूपीएससीमा पनि सफल हुने लक्ष्यमा तिनले अध्ययन जारी राखेकी थिइन्। उता दार्जीलिङको मेरी भिल्ला क्षेत्रमा बस्ने जोजिलाका बुबा हिसे थेण्डुप भूटिया दार्जीलिङको एआरटीओ पदमा कार्यरत छन्। छोरीको यस सफलतामा तिनले भने, सानी छँदादेखि नै राम्रो परिणाम ल्याउने गर्थी। उसको सपना पूरा हुँदा हामी निकै खुशी छौँ। जोजिलाकी आमा अञ्जना क्षेत्री भूटिया पनि छोरीको सफलतामा निकै उत्साहित छन्।
जोजिलाले 2011 मा दार्जीलिङको लोरेटो कन्भेण्टबाट आईसीएसई अर्थात दसौँ कक्षा उत्तीर्ण गरेकी हुन्। 2013 मा सेण्ट जोसेफ मतिगढ़ाबाट बाह्रौं कक्षा उत्तीर्ण गरेपछि दिल्लीको मिराण्डा हाउस कलेजबाट राजनीति विज्ञानमा स्नातक गरेकी हुन्। अर्कातिर जोजिलासितै प्रतिभा पनि सानैदेखि निकै मेधावी थिइन्। तिनको परिवार पनि खुशीले ओतप्रोत बनेको छ।
