आइतवार राति गोवाको एउटा नाइट क्लबमा भएको आगलागी घटनामा बाघडुग्राका 24 वर्षीय युवा सुभाष छेत्रीको मृत्यु भएको छ। लगभग दुई वर्षअघि तिनी उक्त नाइट क्लबमा शेफ कार्यमा लागेका थिए। गत राति आगलागी घटना हुँदा सुभाष खाना पकाउने कार्यमै व्यस्त थिए। घरमा अहिले तिनकी आमा टङ्कमाया छेत्री मात्र रहन्छन्। घटना थाहा पाएपछि आमा विह्वल बनिन्।
सुभाषकी दिदी उर्मिला छेत्रीले भनिन्, खबर हेरेपछि भाइ गम्भीर घाइते भएको थाहा पायौँ। तर पछि मृत्युसमेत भएको पुष्टि भयो। उक्त घटनाप्रति तिनले नाइट क्लब प्रशासनप्रति तीव्र आक्रोश पोखिन्। नाइट क्लबमा आगो नियन्त्रण तथा सुरक्षाको उचित व्यवस्था नभएको परिवारको आरोप छ। त्यसै लापरवाहीका कारण सुभाषको मृत्यु भएको हो। तिनले सरकारलाई सम्पूर्ण घटनाको गहन छानबिन गर्न माग समेत गरेकी छन्।
शनिवार राति भएको उक्त भीषण आगलागीमा गोवाको एक लोकप्रिय नाइट क्लब पूर्ण रूपले ध्वस्त भएको थियो। घटनामा कम्तीमा 25 जनाको मृत्यु भएको पुष्टि भएको छ। यस घटनामा अहिलेसम्म गोवा सरकारले तीनजना सरकारी अधिकारीहरूलाई निलम्बन गरेको छ। दुर्घटनापछि गोवाका मुख्यमन्त्रीले मृत व्यक्तिका परिवारलाई 5 लाख रुपियाँ र घाइतेहरूलाई 50 हजार रुपियाँ क्षतिपूर्ति प्रदान गर्ने घोषणा गरेका छन्। गोवाको बागा समुन्द्र तटनजिक एक लोकप्रिय नाइट क्लबमा पार्टी चलिरहेको बेला आगलागी भएको थियो। तीव्र आगोले केही क्षणमै क्लब पूरा धुवाँले ढाकिएको थियो र आगो छिट्टै फैलिएको थियो। धेरै मानिसहरूको भीड़ रहेको साथै साँघुरो बाटो भएर बाहिर निस्कने प्रयास गर्दा धेरै मानिसहरूको मृत्यु भएको जनाइएको छ।
गोवा घटनामा बाघडुग्राका सुभाष छेत्रीको मृत्यु
