स्टडी ग्रुपका सीईओद्वारा नेपाली विद्यार्थीहरूका लागि नयाँ शैक्षिक मार्गहरूको घोषणा

स्टडी ग्रुपका सीईओ इयान क्राइटनले नेपालको रणनीतिक भ्रमण सम्पन्न गर्दै नेपाली विद्यार्थीहरूका लागि युनिभर्सिटी अफ हडर्सफिल्डको लन्डन क्याम्पससित भएको साझेदारीमार्फत नयाँ शैक्षिक मार्गहरूको घोषणा गरेका छन्। यस सहकार्यले नेपाली विद्यार्थीहरूलाई व्यवस्थापन, अन्तर्राष्ट्रिय व्यापार, कम्प्युटिङ र मार्केटिङ जस्ता विषयहरूमा स्नातकोत्तर कार्यक्रम अध्ययन गर्ने अवसर प्रदान गर्नेछ। यी कार्यक्रमहरू सहरको मुटुमा अवस्थित नवविकसित सम्पत्ति क्षेत्रको लन्डन क्याम्पसमा उपलब्ध हुनेछन्।
भ्रमणको क्रममा क्राइटनले प्रमुख शैक्षिक सरोकारवालाहरू अनि सञ्चारकर्मीहरूसित भेटघाट गरे अनि अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा नेपालको महत्त्वमाथि जोड दिए। क्राइटनले भने, “विद्यार्थीहरूको जीवनमा अन्तर्राष्ट्रिय शिक्षाले पार्ने रूपान्तरणकारी प्रभाव हाम्रो प्रयत्नको प्रेरणा हो। हडर्सफिल्ड विश्वविद्यालय – लन्डनले विश्वस्तरीय ब्रिटिश शिक्षाको प्रवेशद्वारको प्रतिनिधित्व गर्दछ, जसले करियर सफलताको लागि अत्यावश्यक शैक्षिक उत्कृष्टता र व्यावहारिक उद्योग सम्बन्धहरूको संयोजन गर्दछ।”
यी कार्यक्रमहरू अनुभवी प्राध्यापकहरू अनि उद्योगमा लामो अनुभव भएका शिक्षाविद्हरूले सञ्चालन गर्नेछन् जसले रोजगारमुखी वातावरण सिर्जना गर्नेछन् अनि विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूपमा प्रयोग गर्न प्रेरित गरिन्छ। स्टडी ग्रुपले नेपाली विद्यार्थीहरूलाई व्यापक सहयोग, परामर्श र मार्गदर्शन प्रदान गर्दै तिनीहरूको शैक्षिक तथा व्यावसायिक लक्ष्यहरू हासिल गर्न सहयोग गर्ने लक्ष्य राखेको छ। लन्डनलाई विश्वकै उत्कृष्ट विद्यार्थी शहरका रूपमा गणना गरिन्छ।

By Editor