फेरि पहाड़मा स्टिम इञ्जिन चल्ने

पहाड़ी बाटोमा धुवाँ उड़ाउँदै गुड्ने स्टीम इञ्जिनको दृश्य दार्जीलिङ घुम्न आउने पर्यटकहरूलाई सधैँ नै नोस्टाल्जिक बन्छ। केही अघिसम्म दार्जीलिङको सड़कमा यस्तै एउटा स्टीम इञ्जिन चल्थ्यो। तर उमेरका कारण सय वर्षभन्दा पुरानो 799बी लोकोमोटिभ इञ्जिनलाई अन्त्यमा बन्द गरियो। झण्डै 30 वर्षसम्म उक्त इञ्जिनलाई नयाँ दिल्लीको नेशनल रेलवे म्युजियममा सुरक्षित राखिएको थियो। अब उक्त इञ्जिनलाई एक प्रकारले अवकाशबाट फर्काउँदै फेरि पहिलेकै स्थानमा ल्याइएको छ। रेलवे सूत्रअनुसार 125 वर्ष पुरानो बाफले चल्ने यस लोकोमोटिभ इञ्जिनलाई पुनः यात्रीवाहक टोय ट्रेनमा प्रयोग गरिनेछ। यही उद्देश्यका लागि शुक्रवार नयाँ दिल्लीबाट इञ्जिनलाई खरसाङ ल्याइयो।
दार्जीलिङ–हिमालयन रेलवे (डीएचआर) सूत्रअनुसार आपातकालीन रूपमा युनेस्को हेरिटेज मान्यता प्राप्त तीनधारे वर्कसपमा इञ्जिनको मरम्मती तथा मरम्मती संरक्षणको कार्य आरम्भ भएको छ। महत्त्वपूर्ण कुरा के छ भने टोय ट्रेनका बाफले चल्ने सबै इञ्जिनहरूको मरम्मती संरक्षण यही वर्कसपमै हुन्छ। त्यति मात्र होइन यहीँका प्राविधिकहरूले नै इञ्जिनका आवश्यक उपकरणहरू पनि बनाउँछन्। डीएचआरअनुसार 799बी लोकोमोटिभ इञ्जिन पुनः सञ्चालनमा ल्याउनअघि यसको नयाँ नामाकरण गरिनेछ। डीएचआरका निर्देशक ऋषभ चौधरीअनुसार तीन–चारवटा नामको प्रस्ताव तिनीहरूलाई आइसकेको छ र छिट्टै अन्तिम नाम तय गरिनेछ।
ऋषभ चौधरीले भने, इञ्जिन चल्न थालेपछि पर्यटकहरू अझ खुशी हुने हामीले आशा गरेका छौँ किनकि उमेरका कारण बन्द गरिएको इञ्जिनलाई फेरि नयाँ रूपमा चलाउने योजना बनाइएको छ। यो समाचार थाहा पाएपछि स्थानीय मानिसहरूले ठूलो चासो देखाइरहेका छन्। यस ऐतिहासिक लोकोमोटिभद्वारा सञ्चालित टोय ट्रेनमा यात्रा गर्दा पर्यटकहरूले पहाड़ी मार्गको सुन्दर दृश्यसितै इतिहाससहितको रेलयात्राको अनौठो आनन्द पनि लिन सक्ने डीएचआर अधिकारीहरूको विश्वास छ। भविष्यमा यो इञ्जिन नै पर्यटकहरूको एउटा प्रमुख आकर्षण बन्नेछ। तर यो लोकोमोटिभ अध केही समयपछि मात्र फेरि पहाड़को न्यारो–गेज रेलमार्गमा दौड़िन सक्नेछ। डीएचआरका कर्मचारीहरूअनुसार इञ्जिनलाई समग्र रूपमा चलाउन योग्य बनाउनका लागि अझै केही महीना समय लाग्न सक्छ।

By Piyali Poddar