बाल दिवसलाई केन्द्र गरेर दार्जीलिङ हिमालयन रेलवेले एक भावनात्मक र मानवीय पहल प्रस्तुत गरेको छ। सिलगढ़ी जङ्क्शनदेखि रङटङसम्म ओटिस्टिक तथा दृष्टिहीन बालक-बालिकालाई विशेष टोय ट्रेन यात्रा सञ्चालन गरियो। हिमाली रेलमार्गको ऐतिहासिकताबीच ससाना अनुहारमा उमङ्ग, आश्चर्य र रङ्गीन हाँसो प्रस्फुटित भयो। आज सिलगढ़ी जङ्क्शन उत्सव स्थलमा परिणत भएको थियो। रङ्गीन बेलुन, खुशीले भरिएका बालक-बालिकाहरू, सङ्गीत र अभिभावकहरूको उत्साहले प्लेटफर्म गुञ्जयमान बनेको थियो। ट्रेन छुट्न साथ प्रत्येक घुम्तीमा उज्याला–छायाँ साथै जङ्गलको हरियाली सौन्दर्यले बालक-बालिकालाई अद्वितीय अनुभव प्रदान गर्यो । कोही झ्यालबाट चिसो हावा छुन खोजिरहेका थिए त कोही फेरि ट्रेनको आवाजमा नाच्दै रमाइरहेका थिए मानौँ रेलको पूरै डिब्बा उत्साहको तरङ्गमा डुबेको थियो।
यस विशेष यात्रामा एशोसिएशन फर कञ्जरभेशन एण्ड टुरिजमका कन्भेनर राज बसु, डीएचआरका निर्देशक ऋषभ चौधरीसहित विभिन्न विशिष्ट अतिथिहरू उपस्थित थिए। ऋषभ चौधरीले भने, डीएचआर केवल एउटा सम्पदा मात्र होइन यो मानिस–मानिसबीच सम्बन्धको मार्ग हो। विशेष दिव्याङ्ग बालक-बालिकाका लागि गरिएको यस आयोजनामाथि हामीलाई गर्व छ। तिनीहरूको हाँसो नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो।
युनिक फाउण्डेशनका संस्थापक शक्ति पालले भने, यी धेरैजना बालक-बालिका पहिलोपटक टोय ट्रेनमा चढ़े। तिनीहरूको यो खुशी नै हाम्रो सफलता हो। यो यात्रासितै बाल दिवसको अवसरमा 15 नोभेम्बरसम्म डीएचआरले अन्य विविध कार्यक्रम पनि प्रस्तुत गरेको छ। 15 नोभेम्बरमा सुखना स्टेशनमा स्थानीय संस्कृति, कला तथा हस्तकला प्रदर्शनीसहित स्टेशन महोत्सव आयोजना हुनेछ। उक्त दिन महात्मा गान्धीको दार्जीलिङ भ्रमणको शताब्दी वर्ष पूरा भएको उपलक्ष्यमा शताब्दी मार्चको रङटङ–सुकना चरण पनि सम्पन्न गरिनेछ। मार्चपछि रङटङका बालक-बालिकाका लागि अर्को एक विशेष टोय ट्रेन यात्राको व्यवस्था गरिनेछ। डीएचआरको यस कार्यक्रमले पहाड़को परम्परालाई नयाँ ढङ्गले उजागर गरेको छ र सामाजिक उत्तरदायित्वको एक अद्वितीय सन्देश दिएको छ।
बाल दिवसमा विशेष टोय ट्रेन यात्रा
