सोसाइटी फर पीपल्स अवेयरनेस सोसाइटी नामक गैर सरकारी संस्थाले सबै सरोकारवाला निकायसित हातेमालो गर्दै कालेबुङलाई एक वर्षभित्र बाल विवाहमुक्त बनाउने संकल्प लिएको संस्थाका निदेशक तथा सम्पादक प्रवीर बासुले बताएका छन्। बाल विवाहमुक्त भारत अभियानको एक वर्ष पूरा भएको अवसरमा आरम्भ गरिएको 100 दिने तीव्र जनचेतना अभियानले विद्यालय, शैक्षिक संस्था, विवाह हुने धार्मिक स्थलहरू, विवाह सम्बन्धी सेवा प्रदायक, पञ्चायत तथा नगरपालिकाहरूलाई लक्षित गर्दै रणनीतिक कार्ययोजना लागू गरिएको छ। जस्ट राइट्स फर चिल्ड्रेनसित साझेदारीमा एसपीएएन संस्था बाल विवाहको अन्त्यका लागि देशभरिका 451 जिल्लामा सक्रिय अनि 250 भन्दा अधिक संस्थाहरूको ठूलो नेटवर्क हो। यो नेटवर्क गत एक वर्ष एक लाखभन्दा अधिक बाल विवाह रोक्न सफल भएको निदेशक प्रबीर बासुले बताए।
अभियानको वार्षिकोत्सवको अवसरमा एसपीएएनले कालेबुङ जिल्लाका विद्यालय, कलेज, शैक्षिक संस्थान तथा ग्रामीण क्षेत्रहरूमा जनचेतना कार्यक्रम, प्रतिज्ञा–समारोह तथा बाल विवाह निषेध ऐनबारे जनचेतना कार्यक्रम गरेको थियो। उक्त कार्यक्रममार्फत विवाह सम्बन्धी सेवा प्रदायक—क्याटरिङ, टेण्ट तथा ब्याण्ड सेवा साथै विवाह सम्पन्न गराउने धर्मगुरु आदिलाई बाल विवाहमा संलग्न भएमा कानूनी रूपमा दण्डित हुनुपर्ने जानकारी गराइयो। कानून कार्यान्वयन निकाय तथा जिल्ला प्रशासनसित साझेदारीमा कार्य गर्दै यस संस्थाले गत वर्ष 100 भन्दा अधिक बाल विवाह रोकेको निदेशक प्रबीर बासुले थप बताए। सरकारको
नयाँ घोषणाले आफ्नो अभियानलाई थप बल पुग्ने विश्वास व्यक्त गर्दै निर्देशक बासुले भने, यी 100 दिनका तीव्र प्रयासहरूले देशको भविष्य बदल्ने क्षमता राख्दछन् र प्रधानमन्त्रीको विकसित भारत-को लक्ष्यतर्फ अघि बढ्न सहयोग गर्दछ। विवाहको नाममा पुस्तौँदेखि हाम्रा छोरीहरू विभिन्न प्रकारको अवसर, शिक्षा र सुरक्षित जीवनबाट वञ्चित हुँदै आइरहेका छन्। सरकारी निकाय, निर्वाचित प्रतिनिधि, कानून कार्यान्वयन संयन्त्र र समुदायबीचको यो अभूतपूर्व सहकार्य भारतको बाल विवाह उन्मूलन यात्रामा गेम-चेञ्जर प्रमाणित हुनेछ। हामी एक वर्षभित्रै कालेबुङलाई बाल विवाहमुक्त बनाउन पूर्ण आशावादी छौँ साथै यसका लागि हरसम्भव कार्य गर्नेछौँ। अब यो अपराध कुनै पर्दा वा बहानाभित्र लुक्न सक्दैन, तिनले थपे।
कालेबुङलाई बाल विवाहमुक्त बनाउने सोसाइटीको संकल्प
