बुढ़ी तोर्षा नदीबाट बालुवा-ढुङ्गाको तस्करी

एक समय थियो जब चराको चिरबिर र वन्यजन्तुको आवाजले कुञ्जनगरका वासिन्दाहरूको निद्रा खुल्थ्यो। तर अहिले गाउँलेहरू ट्र्याक्टरको गर्जनले ब्युझिन्छन्। बिहान उठ्न साथ हेर्दा सड़कभरि बालुवा र ढुङ्गा छरिएको हुन्छ। अहिले कुञ्जनगरको बुढ़ी तोर्षा नदी खनेर बग्रेल्तै बालुवा–ढुङ्गा तस्करी भइरहेको छ। यद्यपि फालाकाटामा कुनै पनि नदीबाट बालुवा वा ढुङ्गा उठाउने रोयल्टी नरहेको भू–विभागले जानकारी दिएको छ। त्यसो भए बुढ़ी तोर्षामा के भइरहेको छ? प्रशासनका अधिकारीहरूसित यसको कुनै जवाब छैन। बुढ़ी तोर्षा नदीबाट बालुवा–ढुङ्गा निकाल्दा पर्यावरणीय सन्तुलनमाथि गम्भीर प्रभाव परेको धारणा पर्यावरणविद्हरूको छ। यहाँसम्म कि वन विभागका धेरै अधिकारीहरूले पनि यसलाई स्वीकार गरेका छन्। अहिले नै ठूलो परिमाणमा बालुवा–ढुङ्गा उठाउँदा नदी कटान आरम्भ भइसकेको छ। जङ्गलभित्र बग्ने उक्त नदीमा ट्रलीले बालुवा–ढुङ्गा उठाउने आवाज र मानिसहरूको ओहोरदोहोरले जल्दापाड़ाका वन्यजन्तुहरू सङ्कटमा परेका छन्। परिणामस्वरूप अहिले साँझ परेपछि हात्ती र गैँड़ाहरू प्रत्येक दिन जल्दापाड़ाबाट कुञ्जनगरको बस्ती क्षेत्रमा आइपुग्ने गर्छन्। वन्यजन्तुको आक्रमणको डरले एक समय प्रकृति अवलोकन केन्द्र भनेर चिनिने कुञ्जनगर अहिले साँझ परेपछि सुनसान हुन्छ। शुक्रवार राति कुञ्जनगरको सभापति मोड़ क्षेत्रमा हात्तीको आक्रमणमा परेर एउटै परिवारका मनोजित दास (32), तिनकी आमा माखनरानी दास र मनोजितकी 35 दिनकी छोरीको ज्यान गएको थियो।
स्थानीय वासिन्दा अधीर बर्मनले भने, बुढ़ी तोर्षा नदीमा हामी पहिले माछा मार्थ्यौं। तर अहिले बालुवा–ढुङ्गा निकाल्दा नदीको पानी धमिलो भइसकेको छ। अहिले हेर्दा जङ्गलका रूख–बिरुवाहरू पनि नदीभित्रै बगिरहेका छन्। छेउमै वन विभागको कार्यालय छ। तर तिनीहरूले केही बोल्दैनन्।कुञ्जनगर पस्न साथ मवरा (मयर) नदी पर्छ। अहिलेसम्म यो नदी बालुवा–ढुङ्गा तस्करहरूको सफ्ट टार्गेट थियो। तर यस नदीमा पुल निर्माणको कार्य आमर्भ भएपछि बालुवा माफियाहरूले आफ्नो क्षेत्र परिवर्तन गरेका छन्। अहिले कुञ्जनगरको बीचैबाट बग्ने बुढ़ी तोर्षा नदी माफियाहरूका लागि सुनको खानी बनेको छ। वर्षभरिकै कम जलप्रवाह हुँदाहुँदै पनि वर्षामा यस नदीले प्रचण्ड रूप लिन्छ। तर निर्माण कार्यका लागि बुढ़ी तोर्षाको बालुवा र ढुङ्गाको माग धेरै भएकाले अहिले यस नदीमा राति अबेरदेखि नै बालुवा–ढुङ्गा निकाल्ने काम भइरहेको छ। प्रत्येक दिन कम्तीमा 50-60 ट्रली बालुवा–ढुङ्गा निकालिँदैछ।
भू विभाग सूत्रअनुसार, बुढ़ी तोर्षा नदीबाट बालुवा–ढुङ्गा निकाल्न कुनै अनुमति छैन। अहिले भइरहेको सबै काम अवैध हो। तस्करीको काम सखारै बिहानदेखि आरम्भ हुन्छ र दिनभरि चलिरहन्छ। ट्रलीमा भरिएका बालुवा–ढुङ्गा कादम्बिनी चियाबारीको बाटो हुँदै तस्करी गरिन्छ। स्थानीय वासिन्दाहरूको भनाइमा यस क्षेत्रमा धेरैले आवास योजनाअन्तर्गत घर पाएका छन्। तिनीहरूको घर बनाउन बुढ़ी तोर्षा नदीको बालुवा–ढुङ्गाको ठूलो माग भइरहेको छ। बाहिर यसलाई धेरै मूल्यमा बेचिन्छ।यस विषयमा फालाकाटा पञ्चायत समितिका वन तथा भू–कार्याध्यक्षा दीपक सरकारले भने, अवैध रूपमा बालुवा–ढुङ्गा निकालेर यदि वन क्षेत्रको विनाश भइरहेको छ भने यो निकै गम्भीर चिन्ताको विषय हो। हामी बीएलएलआरओ र पुलिसलाई जानकारी दिई चाँड़ै कारवाहीका लागि अघि बढ्नेछौँ।

By Piyali Poddar