बिजुलीको बिलको झञ्झट घटाउन सिलगढ़ी नगर निगमले सौर ऊर्जामाथि आधारित ऊर्जा उत्पादनमाथि जोड़ दिइरहेको छ। हालसालै शहरका थुप्रै स्थानहरूमा सोलार प्यानल जड़ान गरी त्यसबाट उत्पादन भएको विद्युत प्रयोग गर्न थालिएको छ। केही स्थानमा उत्पादन भएको सौर विद्युत राज्य विद्युत वितरण कम्पनीलाई बिक्री समेत गरिँदैछ। आगामी दिन थप 12 स्थानमा सोलार प्यानल जड़ान गर्ने निर्णय नगर निगमले गरिसकेको छ। साथै दार्जीलिङ जिल्ला प्रशासनले पनि सौर विद्युत सेवा आरम्भ गर्न शहरका केही स्थानहरूको विवरण सङ्कलन गरिरहेको छ।नगर निगमको विद्युत आपूर्ति विभागका मेयर परिषद कमल अग्रवालले भने, सौर विद्युत उत्पादनको पूर्वाधार विस्तार गरेर हामी विद्युत बिलको भार घटाउन चाहन्छौँ। साथै शहरमा ‘स्मार्ट इलेक्ट्रिक’ प्रणाली आरम्भ गर्ने प्रयास पनि भइरहेको छ।यसको कार्यान्वयन भएपछि एकातिर खर्च घट्नेछ भने अर्कातिर शहरको सौन्दर्य पनि बढ्नेछ।
राज्य विद्युत वितरण कम्पनीका एकजना उच्च अधिकारीले भने, सौर ऊर्जालाई ग्रिडमा समेटेर हामीले उत्पादन गर्ने जलविद्युत आपूर्ति भइरहेको छ। यो धेरै ठाउँमा आरम्भ भइसकेको छ। नगर निगमका विभिन्न कार्यालयहरू र शहरभरि स्ट्रीट लाइट बाल्न प्रत्येक महीना राज्यलाई 20-25 लाख रुपियाँको विद्युत बिल चुकाउनुपर्छ। यो खर्च घटाउन सौर ऊर्जालाई प्राथमिकता दिइएको हो। हालसालै नगर निगमको एन्नेक्स भवन, रवीन्द्र मञ्च लगायतका स्थानहरूमा सोलार प्यानल जड़ान गरेर उत्पादन आरम्भ गरिएको छ। अब थप 12 स्थानमा नयाँ सोलार प्यानल जड़ान गरी विद्युत उत्पादन गरेर प्रयोग गर्ने निर्णय निश्चित भइसकेको छ। यस प्रयोजनमा नगर निगमले लगभग 60 लाख रुपियाँ खर्च गर्नेछ। यी स्थानहरूमा सूर्य सेन पार्क, किरणचन्द्र भवन, विवेकानन्द सुपर मार्केट, 23 नम्बर वार्डको मातृसदन स्वास्थ्य केन्द्र र 4 नम्बर बोरो कार्यालय परेका छन्। 4 नम्बर बोरो कार्यालयमा सोलार प्यानल जड़ानको कार्य 80 प्रतिशत सम्पन्न भइसकेको छ।
जड़ान गरिने सोलार प्यानलले 10-12 किलोवाटसम्म विद्युत उत्पादन गर्न सक्ने क्षमता राख्छ। विद्युत विभागका मेयर परिषदले भने, अहिले उत्पादन भएको सौर विद्युत भण्डारण गर्ने प्रविधि प्रयोग गरिएको छैन किनभने यसका लागि उच्च क्षमताको ब्याट्री आवश्यक पर्छ। त्यसैले हामीले उत्पादन भएको सौर ऊर्जालाई राज्य विद्युत वितरण कम्पनीको ग्रिडमा जोड्दैछौँ र त्यहाँबाट पुनः विद्युत किनेर प्रयोग गर्दैछौँ। भविष्यमा यो प्रविधि शहरका अन्य ठाउँहरूमा पनि लागू गरिनेछ। नगर निगमको विद्युत विभागका इञ्जिनियरहरूअनुसार राज्य विद्युत वितरण कम्पनीले विशेष प्रकारको मशिन जड़ान गरेर इनपुट–आउटपुट मिटर रिडिङको व्यवस्था गरेको छ। यहाँ उत्पादन भएको विद्युत ‘आउटपुट’ विकल्पमा दिइन्छ र ‘इनपुट’ विकल्पबाट विद्युत लिएर प्रयोग गरिन्छ। त्यो विद्युत ग्रिडमा जान्छ र फेरि वितरण कम्पनीबाट विद्युत किनिन्छ। इनपुट र आउटपुट मिटर रिडिङ हेरेर यदि थप विद्युत प्रयोग भएको छ भने त्यसको मात्र बिल तिर्नुपर्छ। अर्कातिर गत महीना दार्जीलिङका अतिरिक्त जिल्ला अधिकारी (सामान्य) को कार्यालयबाट नगर निगमका विभिन्न पार्क र नदीघाटहरूमा सौर ऊर्जामा आधारित बत्ती जड़ान सम्भव हुने स्थानहरूको सूची माग गरिएको थियो। उक्त मागअनुसार 37 स्थान पहिचान गरी 98 वटा हाईमास्ट लाइट्स जड़ान गर्ने प्रस्ताव पठाइएको छ। यदि त्यो काम सम्पन्न भए शहरको धेरै क्षेत्र सौर ऊर्जाबाट उज्यालो हुने आशा मेयर परिषदले व्यक्त गरेका छन्।