रूखविहीन बन्दै सिलगढ़ी शहर

सिलगढ़ी शहर रूखविहीन हुँदै गइरहेको छ। सयौँ रूखहरू काटेर कतिवटा बिरुवा रोपियो अनि तिनको संरक्षण गरिएको छ भन्ने विषयमा धेरै प्रश्नहरू उठिरहेका छन्। शहरका मुख्य सड़कहरूसितै राष्ट्रिय र राज्य राजमार्ग चौड़ा गर्दा सयौँ पुराना रूखहरू कुनै हिचकिचाहटबिना काटिए। यसको गम्भीर प्रभाव शहरको पर्यावरणमाथि परेको छ। एसएफ रोडबाट रूख उखेलेर अन्यत्र लगाइने विषयमा सिलगढ़ीको राजनीति गरम भएको छ। तर एसएफ रोड छोड़ेर पनि शहरले कैयौँ रूखहरूको बलिदान देखेको छ। सिलगढ़ीमा गाछ काकु भनेर चिनिने मिलनपल्लीका पुराना वासिन्दा मखन घोषको अहिले मन खिन्न छ। तिनले आफ्नै हातले डेढ़ हजारभन्दा अधिक निमपत्ताका रूखहरू लगाएका छन्। झण्डै तीन गुणा बढ़ी निमपत्ताका बिरुवाहरू पनि वितरण गरे। तर दुखको कुरा ती रूखहरूमध्ये 10 प्रतिशत पनि बाँच्न सकेनन्। मखन घोष भन्छन्, विभिन्न कार्यक्रममा रूखहरू लगाउने त गर्छन् तर त्यसपछि संरक्षण गर्दैनन्। मन खिन्न हुन्छ अनि दुःख लाग्छ। जसै गरेर पनि रूखहरू काटिँदैछन्। यसले सिलगढ़ीको भविष्य डरलाग्दो बनाउनेछ।
खप्रैल मोड़देखि सालुगढ़ा सेना छाउनीसम्म एलिभेटेड कोरिडोर निर्माण गर्न लगभग 200 पुराना रूखहरू काटिए। 500 भन्दा अधिक साना रूख काटिए। बर्द्धमान रोडलाई विभिन्न समयमा विस्तार गर्दा कम्तीमा 100 रूख काटिए। सेभोक रोडको विस्तार गर्दा थप 150 रूख काटिए। त्यसबाहेक टाउनशिप र घर निर्माण गर्दा कति रूख काटिए भनेर कुनै लेखाजोखा छैन। सिलगढ़ी कलेजको भूगोल विभागका प्रमुख पार्थप्रतीम राय भन्छन्, शहरमा जसै गरेर पनि रूखहरू काटिए। त्यसले ताप अवशोषण गर्ने क्षमता कम्ती हुँदै जानेछ। कुनै पनि शहरको तापमान नियन्त्रण गर्न नदी, जलाशय र रूखहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। तर सिलगढ़ीमा नदीमा पानी छैन अनि त्यति जलाशय पनि छैन। त्यसकारण अन्य शहरको तुलनामा यहाँ गर्मीको प्रभाव अझ बढ्दै जानेछ। तिनले थपे, शहरको जहाँ धेरै रूख काटिन्छ, त्यहाँ तापक्रम पनि बढ्छ।
एलिभेटेड कोरिडोर बनाउन साल, जरुल, पाकुर, अश्वत्थ, गामारी, पलाशजस्ता रूखहरू काटिएका छन्। चाँदमणिको छेउमा जरुलको वन सखाप भयो। धेरै रूखहरूको काठको मूल्य नहुँदा तिनीहरूलाई गनिँदैन पनि। हिमालयन नेचर एण्ड एडभेञ्चर फाउण्डेशनका प्रवक्ता अनिमेष बसुले भने, सड़क चौड़ा गर्न रूख काट्दा केन्द्र सरकारले वन सिर्जनाका लागि रकम दिन्छ। तर जहाँ रूख काटिन्छ त्यहाँबाट 300 किलोमिटर टाढ़ा वन सिर्जना गरिएको देखिन्छ। यसको परिणाम स्वरूप स्थानीय पारिस्थितिकीय प्रणाली बिग्रन्छ। त्यसैले जहाँ रूख काटिन्छ, त्यहीँ वन सिर्जना गर्नुपर्छ। सिलगढ़ीबारे चिन्ता गर्नुपर्ने कारण तथ्याङ्कले पुष्टि गरेको छ। 2020 को दिसम्बरमा 3.4 मिमी पानी परेको थियो। तर पछिल्ला दुई वर्ष सिलगढ़ीमा एक थोपा पानी परेको छैन। शहरको वातावरणमाथि काम गर्ने अभियान साहाले भने, राष्ट्रिय राजमार्ग विस्तार गर्न रूख काटिएको ठाउँमा कुनै पनि रूख लगाइएको छैन। शहरमा केही रूख लगाइएका छन्। तिनको संरक्षण गरिए पनि ठूला हुन 30 देखि 40 वर्ष समय लाग्नेछ। त्यसपछि फेरि सड़क चौडा गर्नु परे रूख फेरि काटिनेछ। सिलगढ़ी शहरलाई जति रूख आवश्यक छ, त्यति छैन।

By Piyali Poddar